इटहरी : इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि स्थानीय शिक्षा ऐन, २०८० लागु गरेर इटहरीका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा लागि परेका छन् । इटहरीको शिक्षा क्षेत्रलाई व्यापक सुधार आवश्यक भएको भन्दै मेयर पौडेल एक्सनमा उत्रिएका हुन ।

शनिवार इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका छन् । मेयर पौडेलले सबभन्दा पहिला राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन् । ’शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेल भन्छन् ।

मेयर पौडेलले शिक्षकहरू समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारबाही गरिने समेत बताए । पोसाक नलगाई विद्यालय आउनेहरूको पोसाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो ।

आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेला राखेर विद्यालय सुधारमा लाग्न निर्देशन दिएका हुन । व्यवस्थापन समितिका सबै अध्यक्षहरूलाई मेयर पौडेलले विद्यालय सुधार्न सबैलाई सक्रिय रूपमा लाग्न मेयर पौडेलको निर्देशन थियो । उपमहानगरले भौतिक संरचना सँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार छ तर शिक्षामा व्यापक सुधार हुनु पर्‍यो मेयर पौडेलले अध्यक्षहरू सँग भने ।

जनता माध्यमिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच वर्ष अगाडी सम्म स्थानीय सरकारको बेबस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी व्यक्त गरे । अहिलेको मेयर साबले शिक्षालाई निकै महत्वका साथ हेर्नु भएको छ हामी मेयर साबलाई साथ दिन तयारी छौ अध्यक्ष दंगालले भने ।