धरान : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धरानमा गोपाल मन्दिरका सामुन्ने चर्चको निर्माण धर्मनिरपेक्षताका आडमा धार्मिक सद्भाव बिथोल्ने क्रियाकलापको उदाहरणको रूपमा अघि आएको बताएका छन् ।

उनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएपछि त्यसबाट धार्मिक सद्भाव खलबलिन्छ भनी राप्रपाले भन्दै आएको कुरा अहिले व्यवहारमा देखिन थालेको बताए । 

अध्यक्ष लिङदेनले धरानमा गोपाल मन्दिरको अगाडि बनेको चर्चको कुरा मात्र होइन ‘धर्मनिरपेक्षताको आडमा धार्मिक सद्भाव बिथोल्ने काम अरू ठाउँमा पनि हुन्छ ।’ 

धरानमा भएको क्रियाकलाप उदाहरण मात्र भएको बताउँदै उनले भने ‘यसबाट रैथाने मौलिक धर्महरूलाई अल्पसङ्ख्यक बनाउने काम भइरहेको छ र हुन्छ ।’ 

उनले भने ‘म लिम्बुको छोरो, किरात धर्ममा विश्वास गर्छु, तर सबै धर्मको रक्षाका लागि नेपाल हिन्दु राष्ट्र घोषित हुनपर्छ भन्ने पक्षमा छु ।’ 

धरानमा गोपाल मन्दिरको सामुन्ने चर्च बनाएको कुरा चर्चाका विषय भइरहेको बेला ‘हिन्दु राष्ट्र’ माग गर्दै आएको राप्रपा अध्यक्ष लिङदेन धरान आएका हुन् । उनी विवादास्पद स्थलको अवलोकनमा भने गएनन् । 

पिण्डेश्वर बाबाधाम सहित धरानका धार्मिक स्थलहरूमा आएका अध्यक्ष लिङदेनको स्वागतमा भेला भएका स्थानिय समुदाय, तिर्थालुहरु बिच उनले उक्त धारणा प्रकट गरेका हुन् । उनले भने ‘हिन्दु राष्ट्र पुनरुत्थान सद्भाव अभियानको लागि आएको हुँ ।’

राप्रपाले सुरु गरेको उक्त अभियान पिण्डेश्वर धामबाट प्रारम्भ भएको अध्यक्ष लिङदेनले उद्घोष गरे । धरानबाट अभियान सुरु भएको घोषणा गरे । उनले मन्दिरकै सामुन्ने विवादास्पद चर्च निर्माणलाई पार्टीको धार्मिक एजेन्डा बनाउने सङ्केत दिएका छन् ।