सुनसरी : यु १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय छनौट सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घको कार्यक्रम अनुसार धरानमा सुरु प्रदेशस्तरीय छनौटमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट छनौट भएर आएका २ सय ५० किशोरहरूको सहभागिता छ ।

धरानस्थित एन्फा एकेडेमीमा तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।

प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १६ देखी हुने राष्ट्रिय छनौट प्रतियोगिताबाट यु१६ को राष्ट्रिय टोली घोषण गरिने कोशी फुटबल सङ्घका महासचिव भगीरथ आलेले जानकारी दिए ।

कोशी प्रदेशका सुनसरी बाहेकका सबै जिल्लाबाट छनौट गरेर खेलाडी पठाइए पनि सुनसरीबाट समयमै छनौट हुन नसकेकाले छनौट कार्यक्रम तीन दिनसम्म लाग्ने आलेले बताए ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर ३ तारिखमा बङ्गलादेशसँग खेल्नेछ।