दमक : विश्व बैङ्कको सहयोगमा नगरकै नमुना बन्न लागेको मदनडाँगी-ताराबारी-डिपु सडकको आज शिलान्यास गरिएको छ ।

दमक वडा नम्बर ५ र १ को सीमा क्षेत्र स्वर्गीय धनबहादुर श्रेष्ठको घर देखी वडा नम्बर ४ को ताराबारी-डीपुसम्म चार लेनमा निर्माण हुने सडकको नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

सडकको शिलान्यास गर्दै नगर प्रमुख थापाले अब निर्माणको काम तत्काल सुरु गरी गुणस्तरीय निर्माण गर्दै तोकिएको समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । यो सडक दमककै नमुना बन्ने भएकोले पनि यसको छुट्टै महत्त्व रहेको भन्दै उनले सडक निर्माणका क्रममा गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।

दमककै नमुना बन्ने सडकको बिचमा हरियाली क्षेत्र समेत रहने छ भने सडकको दुवै तर्फ अत्याधुनिक बिजुली बत्तीको जडान गरिने नगर उपप्रमुख भट्टराईले बताइन् । सडकको दुवै तिर ढल (नाला) सहित नमुना सडक बन्ने उनले जानकारी दिइन्।

१५ मिटर चौडाइको पाँच किलोमिटर सडक निर्माणका लागी ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । सडक निर्माणका लागी विश्व बैङ्कले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको र उक्त सडकमा पैदल लेन सहित साइकल लेन समेत हुने उनले बताए ।

सडक आगामी २०८२ असार ११ सम्ममा सक्नु पर्ने सम्झौता रहेको इन्जिनियर सेनेहाङले जानकारी दिए ।