विराटनगर : नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सके मात्रै जनताले सङ्घीयताको महसुस गर्ने बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधा भोगी नभई जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो ।

स्थानीय सरकारसित जनताका बढी अपेक्षा पनि हुन्छ,” कोइरालाले भने, “जनताले अपेक्षा गर्ने र सधैँ भेट्ने सरकारले जनतालाई राम्ररी डेलिभरी र सुशासन दिन सकेन भने सङ्घीयतामाथि नै प्रश्न उठ्न सक्छ । सङ्घीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो ।”

नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रूपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औँल्याए । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उनको भनाइ थियो ।

जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भने, “जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ ।” विकासका विषयमा स्थानीय तहहरूबिच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गरे ।

भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, जग्गादाता खिलानाथ निरौला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।