धरान : नागरिक सचेत भए मानिस मानव बेचबिखनको घटना हुन्न तर वैदेशिक रोजगारीलाई बाध्यता मानिए सम्म मानव बेचबिखनको शृङ्खला नरोकिने अवस्था नेपालमा विद्यमान रहेको बारे आइतबार चेतनामूलक छलफल गरिएको छ ।

मानव बेचबिखन विरुद्ध दशौं राष्ट्रिय दिवस मनाउँदै सामना नेपालले बेचबिखन विरुद्ध सशक्तीकरण, रोकथाम र सुरक्षा विषयमा चेतनामूलक छलफल कार्यक्रम आयोजना गरेको हो ।

छलफलमा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रबिक्रम बेघाले भने ‘सचेत नागरिक न बेचिन्छ न बेचिमाग्छ ।’ सचेत नागरिकले जिम्मेवारी आत्मनिर्णय गरेमा बेचिनु र बेच्ने काम नै नहुने उनको भनाई थियो ।

धरान मानव बेचबिखन कार्यमा अक्षुतो नरहेको बताउँदै उपमेयर बेघाले सहरी विकासले बढाएको चेतना अभिवृद्धिका कारण सचेत रहेको धरानमा हाल बेचबिखनको समस्या नरहेको धारणा प्रकट गरे ।

आयोजक सामना सुनसरीकी अध्यक्ष चेतना श्रेङले भनिन् ‘मानव तस्करी र मानव बेचबिखन फरक फरक विषय भएको बारेमा बहस सुरु भएको छ ।’ उनका अनुसार नेपाल सरकारसँग सरोकारवालाहरूको यस विषयमा संवाद भइरहेको छ ।

उनले बेचबिखन विरुद्ध क्रियाशील गैरसरकारी अभियान सञ्चालन गर्न आर्थिक श्रोतको अभाव ठुलै समस्या भएको बताउँदै भनिन् ‘आर्थिक अभावका कारण सामना नेपालले फिल्डमा गएर सरोकारवालाहरूसँग कार्यक्रम गर्न सकेको छैन ।’

नेपाल सरकारले जनतालाई सेवा सुविधा बिस्तार गर्न सिंहदरबारको अधिकार घर घर सम्म भनेर नारा दिएता पनि तिनै तहको सरकारले मानव बेचबिखनको सवालमा कार्यरत संस्थाहरूलाई उपेक्षा गरेको अध्यक्ष श्रेङले बताइन् ।

छलफलमा महिला सञ्जाल पूर्व अध्यक्ष शिला बज्राचार्य, धरान-३ का वडा सदस्य मिङमा भोटे, महिला सञ्जाल सहसचिव शकुन्तला त्रिखत्री लगायतले मानव बेचबिखनबाट महिलाहरू पीडित रहेको बताए ।

नेपाल सरकारको तथ्याङ्क अनुसार विश्वमा मानव तस्करहरूले महिला  तथा बालबालिका लक्षित गरेर यौन र श्रम शोषणका लागि बेचिएकाहरूमा ३५ प्रतिशत महिला रहेका छन् ।

महिला बेचबिखन हुन नदिन, पीडितको उद्धार गर्न सरकारले देशभर ८ पुनः स्थापना केन्द्रको स्थापना गरेको छ । हाल केन्द्रमा ७ सय ४० पीडित महिला छन् ।

संयुक्त राष्ट्र सङ्घ महासभाले २०१३ जुलाई ३० देखि अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउन सुरु गरेको हो । नेपालमा मानव बेचबिखन तथा ओसार पसार ऐन २०६४ र नियमावली २०६४ कात्तिक ६ गते बनेको छ ।

उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रूपमा सफल हुन सकेको छैन ।