धरान : झापाको दमक र मेची नगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसारमा एक महिला सहित ४ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय दमक खटिएको प्रहरी कार्यालयले दमक-५ स्थित एक घरबाट ८ ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक-५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीय मिना राई छन् ।

विशेष सूचनाका आधारमा उनीहरू बसेको घरमा छापा मारेर खानतलास गर्दा बरामद ८ ग्राम ब्राउन सुगर सहित ३ थान मोबाइल सहित उनीहरूलाई पक्राउ गरिएको हो ।

यसै गरी झापाको मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट बिर्तामोड-४ का २० वर्षीय महमताज अलिलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

अलिलाई भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका बेला चेकजाँच गर्ने क्रममा ब्राउन सुगर बरामद भएसँगै प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।