वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ । व्यापारीहरूलाई सचेतना जगाउँदै बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरुपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन गरिएको थियो ।

सोमबार नगरपालिकाले वडा नं १ चतरा बजारमा रहेका खाद्यान्न किराना पसल, होटेल, मदिराका पसलहरूको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत  सञ्चालन भएका पसलहरूलाई  नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई सचेतना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु , त्यस्तै म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई सचेतना र दर्ता प्रक्रियामा रहेका व्यवसायहरूलाई आवश्यक सहजिकरण समेत अनुगमनको क्रममा गरिएको उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन्।

बजारमा म्याद नाघेका सामग्री, कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए ।

अनुगमनले व्यापारीहरूलाई सचेतना र उपभोक्ताहरूको अधिकारको सुनिश्चित हुने उद्योग वाणिज्य संघ चतराका अध्यक्ष कृष्ण कट्टेलले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण कट्टेल, पत्रकार लगायतको सहभागिता रहेको थियो।

bajar anugaman