धरान : टिभिएस मोटरसाइकल, स्कुटरको धरान स्थित शोरुमले मर्मत सम्भारका लागि पार्टस खरिद गर्दा ग्यारेजका मेकानिकलाई १० प्रतिशत कमिसन दिनुपर्ने भन्दै ग्राहकसँग एमआरपी विल बाहेक छुट्टै रकम असुल्ने गरेको पाइएको छ ।
ग्यारेजका मेकानिकले शोरुमले सामानको एमआरपी बिलको १० प्रतिशत कमिसन दिने गरेको बताए । शोरुमले भने एमआरपी बिल भन्दा बढी रकम असुल्ने गरेको पाइएको छ ।
शोरुमले ग्राहकबाट मोटर पार्टस खरिद गर्दा तोकिएको भन्दा बढी शुल्क लिएको कपुरी न्युजले बिल पाएको छ । उक्त भ्याट बिलमा कुल अधिकतम खुद्रा मूल्य (एमआरपी) १६ हजार ८५८ रुपैयाँ छ ।
त्यसमा अतिरिक्त रकम थप गरेर थपेर शोरुमले ग्राहकबाट कुल १९ हजार ५० रुपैयाँ असुल गरेको देखिएको छ। उक्त भ्याट बिल टिभिएस शोरुम धरान शाखा सिजन एन्ड ब्रदर ट्रेडर्सको नामको हो ।
टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपालभरका टिभिएस शोरुममा मोटर पार्टसको मूल्य एउटै हुने बताएको छ ।
जगदम्बा मोटर्सका एक प्रतिनिधिले भने, ‘टिभिएस मोटरका पार्टसको मूल्य काठमाण्डौंमा एउटै र काठमाण्डौं बाहिर फरक हुन्छ भन्ने हुँदैन । धरान शोरुमको भ्याट बिलमा त्रुटि देखिएको छ ।’
धरान बाहिरको शोरुममा टिभिएस एन्ट्रकको मोटर पार्टस ‘किट स्टेयरिङको मूल्य १ हजार ६५ रुपया छ । टिभिएस धरानले ग्राहकसँग १ हजार ३ सय रुपैयाँ लिएको भ्याट बिलमा देखिएको छ ।
८ सय ६५ रुपैयाँ पर्ने ‘क्याम चेन’लाई टिभिएस शोरुम धरानले ११०० रुपैयाँमा बिक्री गरेको पाइएको छ । ग्राहकले टिभिएस धरानबाट १६ वटा मोटर पार्टस खरिद गरेको र १४ वटा पार्टसका लागि शोरुमले ग्राहकसँग थप छुट्टै रकम लिएको देखिएको छ ।
पीडित ग्राहकले आफ्नो टिभिएस एनट्रक स्कुटरको हाफ इन्जिन धरान-८ भोटपुलस्थित मोहन कान्छा सर्भिस सेन्टरमा सर्भिस गराएका थिए । स्कुटरको पार्टस टिभिएसको आधिकारिक शोरुम सिजन एन्ड ब्रदर ट्रेडर्सबाट खरिद गरेका थिए ।
टिभिएस धरानले भ्याट बिलमा देखिएको थप छुट्टै रकम मोहन कान्छा ग्यारेजका मेकानिकलाई कमिसनका लागि छुट्टाएको बतायो । सिजन एन्ड ब्रदर ट्रेडर्स धरानका अनुसार मोटर पार्टस खरिदमा ग्यारेजका मेकानिकलाई १० प्रतिशत अर्थात् १०९० रुपैयाँ दिएको बताएको छ ।
मोहन कान्छा ग्यारेजका मेकानिकले शोरुमले सामानको एमआरपीको १० प्रतिशत दिने गरेको बताए । टिभिएस धरानले भने मेकानिकलाई दिने नाममा ग्राहकसँग एमआरपी भन्दा बढी रकम असुलेको पाइएको हो ।
जगदम्बा मोटर्सले टिभिएस मोटर पार्टसको एमआरपी नेपालभर एउटै हुने, एमआरपी भन्दा एक रुपैयाँ पनि बढी लिन नपाउने स्पष्ट गरेपनि धरान शोरुमले भने ग्राहकसँग छुट्टै रकम असुल गरेर ठगी गरेको पाइएको हो ।
धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले शोरुमले यसरी बढी रकम असुल्न नपाउने बताए । बढी रकम लिएको उजुरी आए कारबाही गर्ने उनले बताए ।
उनले भने ‘हामी अहिले धरान बजार अनुगमन गरिरहेका छौ, अहिलेसम्म हामीकहाँ शोरुमले अतिरिक्त शुल्क लिएको बारे उजुरी आएको छैन ।’ यदि पीडित ग्राहकले उजुरी दिए छानबिन गर्छौँ र दोषी पाइए कारबाही गरिने उनले बताएका छन् ।