बिराटनगर : बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल वितरण कार्यक्रम बिराटनगर-१६ स्थित ऋषिदेव बस्तीमा सम्पन्न गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव कुमार भुजेलको प्रमुख आतिथ्यमा झुल वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

उक्त बिकट बस्तीका ६० परिवारलाई झुल वितरण गरिएको थियो भने सचेतना कार्यक्रम जन स्वास्थ्यका क्षेत्रमा कार्यरत जीवन कुमार यादवले डेङ्गुबाट बच्न अपनाउने सावधानी, फैलन सक्ने कारण, फैलिएपछि गर्नु पर्ने उपचार, र कसरी यसबाट जोगिने भन्ने बारेमा स्थानिय भाषामा प्रस्तुति दिनु भएको कार्यक्रम संयोजक ममता रिमालले जानकारी दिइन् ।

बिराटनगर जेसीजले समाजमा आवश्यक परेका बखतमा सदैव सेवाका कार्य गर्दै आइरहेको र हालको अवस्थामा पूर्व क्षेत्रमा देखिएको डेङ्गु प्रकोपलाई मध्यनजर गर्दै सचेतना सहितको झुल वितरण कार्यक्रम आयोजना गरिएको बिराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए ।

जेसीजको सेवा सप्ताह अन्तर्गत महिनावारी सचेतना कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर र संसारीमाइ स्थान सरसफाइ अभियान लगायतका कार्यक्रम सम्पन्न हुने बिराटनगर जेसीजले जनाएको छ ।

महानगर तथा अन्य संस्था भन्दा बिराटनगर जेसिजले डेङ्गु प्रति बढी सचेत देखिएको प्रति स्थानीय खुसी देखिएका छन् ।