इटहरी : इटहरी-१७ बालग्राममा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार र पश्चिमबाट पूर्व आएको बाइक एकआपसमा ठोक्किँदा बाइकमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार प्रदेश ३-००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् । सोही मोटरसाइकलले पुनः प्रदेश १-०२-०४५ प ५८५६ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक सुनसरीका लिलम लिम्बू गम्भीर घाइते भएका छन् । उनी सहित अर्को युवा लक्ष्य लिम्बूको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको रायले बताए ।

दोस्रो पटक ठक्कर खाएको मोटरसाइकलमा सवार चेतनाथ भट्टराई र कृष्ण ढकाल सामान्य घाइते भएका छन् । कार चालक डाक्टर त्रिभुवननारायण साह भने सकुशल रहेका छन् । इटहरीको एपेक्स र ओमसाइ अस्पतालमा कार्यरत डाक्टर प्रहरीको सम्पर्कमा रहेको प्रहरी निरीक्षक रायले जानकारी दिए ।