विराटनगर : सातौँ ददिक्षण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ ।

यही अगस्त ४ देखि भारत हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको एक समारोहका बिच महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिदाइ गरिन् ।

कोसी प्रदेशबाट १० जना खेलाडी र ३ जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोसी प्रदेशका अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए । भारत जाने टोलीमा कार्की सहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङ समेत छन् । 

त्यस्तै रजिना मगर (भोजपुर), वीरबहादुर तामाङ (भोजपुर), आलोक राई (पाँचथर), रोशन मगर (झापा)ले प्रतियोगितामा सहभागिता जनाएका छन् । त्यस्तै मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने कार्कीले बताए ।