धरान : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई परिणाममुखी प्रक्रिया अपनाउन सुझाव दिएका छन् ।

मेयरको कार्यकक्षमा पूर्व प्रधानमन्त्री भट्टराईसँग आज भएको स्वागत भेटघाटका अवसरमा अनौपचारिक रूपमा उनले भने ‘परिणाम निस्कने खालको प्रक्रिया बनाउनुस् ।’ प्रक्रियाका कुरामा कागज मिलाउनु पर्ने कुरामा उनले ध्यानाकर्षण गराए ।

पूर्व प्रम भट्टराईले भने ‘संविधानको स्पिरिट अनुसार सङ्घले कानुन बनाएको छैन ।’ कानुन नं अप्ठ्यारो भएको बताउँदै कतिपय कानुन जता घुमाए पनि हुने खालको भएको बताए ।

जनताले तिरेको करबाट सुविधा खाएर जनताप्रति उत्तरदायी काम गर्नु पर्नेमा जोड दिदैं पूर्व पूर्व प्रधानमन्त्री भट्टराईले ‘सिक्दै जाऊँ, गर्दै जाँउ’ भनी सुझाव दिएका हुन ।

उनले तत्काल धरानको जल्दो बल्दो सवालका बारेमा सोधेका थिए । मेयर हर्क साम्पाङले भने ‘अहिले डेङगुको ठुलै सङ्कट आइपरेको छ ।’

उपमेयर आइन्द्र विक्रम बेघाले थपे ‘सफा पानीमा मच्छडको लार्भाका कारण समस्या बढेको हो ।’ उनले मधेसमा पानी बग्छ, धरानमा पानी बगेको देख्दा अचम्म हुने बताए । 

पूर्व प्रम भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले उपमहानगरपालिकाको प्रक्रिया, पद्धतिका बारेमा जानकारी गराएका थिए ।

भेटघाटको अवसरमा पूर्व प्रधानमन्त्री भट्टराई सहित उनको टोलीलाई मेयर साम्पाङ र उपमेयर बेघाले रुद्राक्षको माला लगाई स्वागत सम्मान गरेका थिए ।