इटहरी : कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गठबन्धनको सरकार निर्माणमा सहजीकरण गर्ने सभामुख गौतमले राजीनामा दिएका हुन् ।

नेकपा एमाले सँग गठबन्धन हुँदा सभामुख पाएको माओवादीले काँग्रेस नेतृत्वमा गुमाएको छ । गौतम माओवादी केन्द्रको तर्फबाट ओखलढुङ्गा प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित सांसद हुन् ।

यसअघि गौतमले सभामुख पदमै रहेर हस्ताक्षर गरेका कारण काँग्रेस नेतृत्वको सरकार २२ दिनमै ढलेको थियो । सत्तारुढ गठबन्धनले उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै बहुमत पुर्‍याउने अन्तिम विकल्पको रूपमा सभामुखले राजीनामा दिएका हुन् ।

सभामुखको राजीनामा लगत्तै नेपाली काँग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । सभामुख पदमा रहेर समर्थन गर्न नमिल्ने सर्वोच्चको आदेश अनुसार गौतमले राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतले दिएको आदेश बमोजिम १६८ (२) अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

सभामुखले सरकार गठनमा हस्ताक्षर गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट हालेका थिए । कार्कीको रिटको सुनुवाइ गर्दै अदालतले थापाको नियुक्ति बदर गरेको थियो । गठबन्धनबाट थापालाई मुख्यमन्त्री बनाउने निर्णय अनुसार गौतमले राजीनामा दिएका हुन् । थापाले आगामी भदौ १४ गते बिहीबार सम्म विश्वासको मत लिनुपर्ने हुन्छ ।