धरान : पछिल्लो समय धरानमा खानेपानी बोर्डले वितरण गरिरहेको शुद्धीकरण नगरिएको खानेपानीमा डेङ्गु फैलाउने लामखुट्टेका लार्भा हुर्किने गरेको आशङ्का गरिएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घले मङ्गलवार आयोजित डेङ्गु नियन्त्रण सम्बन्धी वृहत् अन्तरक्रियामा सहभागी टिएलओका अगुवाहरूले त्यस्तो आशङ्का व्यक्त गरेका हुन् ।

धरान-१५ महादेव चोक टिएलओ अध्यक्ष कुमार भारतीले भने ‘पहिले शुद्धीकरण गरी वितरण गरिएको खानेपानीमा लामखुट्टेको लार्भा हुँदैन थियो ।’ अहिले धारामा थापेको खानेपानी मै लार्भा हुर्कने कुरा आएकोले शुद्धीकरण नभएको खानेपानीको कारण धरानमा डेङगु महामारी फैलिएको आशङ्का जनाउँदै खानेपानीको परीक्षण गर्न माग गरे ।

पहिले प्रत्येक वर्ष वर्खायाममा खानेपानी शुद्धीकरण गर्न औषधी प्रयोग हुने गरेको पानी खाँदा पोटासियमको स्वाद आउने गरेको उनले बताए । अन्तरक्रियामा सहभागी बिपी प्रतिष्ठानका डाक्टरहरूलाई आग्रह गर्दै उनले भने ‘तर हिजोआज पानी शुद्धीकरण नगरिने र डेङगु समस्या बढेकाले खानेपानीको बारेमा डाक्टर साबहरुले स्पष्ट भनिदिनु पर्‍यो ।’

अघिल्ला वर्षहरूमा वर्षायाममा सर्दु, खर्दुको पानी वितरण गर्न अघि शुद्धीकरण गर्न पोटासियम हाल्ने गरिन्थ्यो । त्यो खानेपानीमा पोटासको गन्ध पनि आउँथ्यो । हिउँदमा जङ्गलको पानी वितरण गरिन्थ्यो । पछिल्लो समय शुद्धिकरणको गन्ध आउने गरेको पाइन्न ।  विगतका वर्षहरूमा केन्द्रीय प्रविधि क्याम्पसका माइक्रोबाइलोजीका विद्यार्थीहरूले सर्दु, खर्दु जलाधारको पानी पटक पटक परीक्षण गरेका थिए । उनीहरूको त्यहाँको पानीमा कोलिफर्म भएकोले खान अयोग्य र लुगा धुन पनि नहुने भनी प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यसपछि खानेपानी संस्थानले शुद्धीकरण गर्न थालेको हो ।

अन्तरक्रियामा कुमार भारतीले धरानमा नयाँ खोला खोल्सीबाट खानेपानी ल्याइएको हुनाले पानी थापेको २४ घण्टामै लार्भा उत्पादन हुने गरेको हो कि भन्ने आशङ्का पनि व्यक्त गरे ।

पत्रकार खिलानाथ विश्वकर्माले पछिल्लो समय घरमा जम्मा गरिएका ट्याङ्कीको पानीले नुहाउँदा पनि जिउ चिलाउने गरेको, फोहोर भएको आशङ्का उपभोक्ताहरूले सुनाउने गरेको उल्लेख गर्दै धरानको खानेपानीको बारेमा डाक्टरहरूको भनाई के छ ? भनी प्रश्न गरे ।

पूर्व मेयर मनोज मेन्याङवाले डेङगु नियन्त्रणमा तिनै तहको सरकार मुकदर्शक भएर बसेको बताए । धरानलाई ‘डेङगु सङ्कटग्रस्त क्षेत्र’ घोषण गरेर जानु पर्ने बेलामा  मेयर साम्पाङ सामाजिक सञ्जालमा मात्र  भाइरल  हुने कार्य गरेको आरो लगाए ।

उनले प्रश्न गरे ‘उपमेयर, २० वटै वडाध्यक्ष लगायत कार्यपालिका सदस्य के गर्दै छन् ?’ सम्पूर्ण जनप्रतिनिधीहरु तदारुकता साथ डेङ्गु नियन्त्रणका लागि घरघर पुग्नु पर्ने बताउँदै भने ‘स्थानिय सरकारलाई स्पष्ट परिणाममुखी योजना लिएर युद्ध स्तरमा लाग्न धराने जनताले दबाब दिन जरुरी छ ।’

पूर्व मेयर तिलक राईले भने ‘सामाजिक सञ्जालमा देखाउने काम मात्र नभै अभियानकै रूपमा लागि पर्न सामूहिक रूपमा नेतृत्व अहिलेको अवस्थामा जरुरी छ ।’ अन्तरक्रिया र छलफलले मात्र समाधान नहुने बताउँदै सरोकारवालाहरू सँग तत्काल पूर्ण बैठक बसाएर उद्योग वाणिज्य सङ्घलाई नेतृत्व लिन आग्रह गरे ।

मेयर साम्पाङले खानेपानी अभियान र वृक्षारोपण अभियान जस्तै डेङगु नियन्त्रण गर्न  पनि अभियान चलाउनु पर्ने उनको भनाई छ । पूर्व मेयर राईले भने ‘नेतृत्वले आफू नै सम्पूर्ण कुराको ज्ञाता हुँ भन्न नहुने सबैको कुरा सुनेर डेङगु नियन्त्रणमा लागे ठुलो मानवीय क्षति नहुने र जनताले ढिलै भए पनि राहत पाउने छन् ।’

उनले पानी शुद्धीकरणमा पनि ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिए । स्थानीय सरकारले रोकथाम र नियन्त्रणका लागि धरानलाई मोडल बनाउन किन सक्दैन जबाफदेहिता र जिम्मेवारीपन लिएर अघि बढ्नु पर्ने कुरामा स्थानिय सरकार गम्भीर हुन आग्रह गरे ।

धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले उपमहानगरपालिकाले मङ्गलवार नै सर्वपक्षीय भेला आयोजना गरेर डेंगु नियन्त्रण गर्न धरानमा बुधवार बिहान ७ बजे एकै साथ सबै वडामा सर्च एण्ड डिष्ट्रोय अभियान गरिने निर्णय भएको जानकारी गराए

उनले भने ‘एकीकृत परिणाम नदेखिएकाले सर्वपक्षीय भेला गर्दै साझा धारण बनाउन एकीकृत र केन्द्रीकृत संयन्त्र र संरचना बनाएर जान उद्योग वाणिज्य सङ्घलाई पनि आग्रह गर्दछु ।’ केन्द्रीकृत संयन्त्रको भूमिका अनिवार्य भएकाले एकसाथ वडाध्यक्षको नेतृत्व र टिएलओ अध्यक्ष समन्वयमा सबै वडामा सर्च एण्ड डिष्ट्रोय अभियान बुधवार बिहानबाट गरिने निर्णय भएको उनको भनाई थियो । उपमेयर बेघाले एकीकृत र समन्वयात्मक ढङ्गले काम नगर्दा डेङगु महामारीले विकराल रूप लियो अव राज्यका तिन वटै अङ्गले साथै संघसस्थाले पनि जिम्मेवार पूर्वक काम गर्नु पर्ने बताए ।

कोशी प्रदेशका सांसद रमेश बस्नेतले भने धरान उपमहानगरपालिकाले डेङगु नियन्त्रण गर्न सर्च एण्ड डिस्ट्रोईड्ले मात्र सम्भव नहुने बताए लामखुट्टेको लार्भा नष्ट गर्न पहिला चक्र नष्ट गर्नु पर्ने बताए । उनले भने ‘सरकारको तिनै तहको जनप्रतिनिधिहरूको सीमा र कमजोरीका कारण धराने जनताले दु:ख पाएको हो ।’

डेङगु नियन्त्रण गर्न ढिलो भए पनि प्रदेश सरकार र सघिय सरकारको पहलमा  धरानमा कार्य भईरहेको  उनको भनाई छ । उनले भने प्रदेश सरकार र सघिय सरकारसंग दैनिक सम्पर्क भई रहेको तर स्थानिय सरकारले आनाकानी गरिरहेको बताए । साथै एकीकृत र समन्वयात्मक ढङ्गले अभाव मानवीय क्षति भएको बताए ।  स्थानीय सरकारले सम्पूर्ण जनशक्ति खर्च गरेर रोग नियन्त्रणमा लागि पर्न आग्रह समेत गरे ।

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका पूर्व अध्यक्ष सरोज श्रेष्ठले एकै समयमा  २० वटै वडामा फगिङ, सर्च एण्ड डिस्ट्रोईडलाई सामूहिक नेतृत्व, टिएलओलाई कार्यविभाजन र समायोजन दिएर जाने व्यवस्था हुन जरुरी भएको बताए ।

अन्तरक्रियामा बिपी प्रतिष्ठान डेङगु अस्पाताल प्रमुख डा.रविन मास्के, डा. सिमरन श्रेष्ठ प्राविधिकहरु सहभागी थिए । डा.सम्रिन श्रेष्ठले डेङगु नियन्त्रण तथा  रोकथाम वीपीमा बिरामीको तथ्याङ प्रस्तुत गरे ।

संघका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा धरानका टिएलओका अध्यक्षहरुले डेङगु नियन्त्रणमा टिएलओको समस्याहरु प्रस्तुत गर्दै स्थानीय सरकारको भूमिका चित्तबुझ्दो नभएको गुनासो पोखेका थिए ।