विराटनगर : विराटनगर जेसीजद्वारा सुरक्षित महिनावारी, सुरक्षित उनी कार्यक्रम सम्पन्न गरिएको छ ।

विराटनगर जेसीजको स्थायी प्रोजेक्ट जेसी बाल सदनमा आयोजित कार्यक्रममा महिनावारीसँग सम्बन्धी विषयमा सचेतना प्रदान गर्नुका साथ छात्राहरूलाई सेनिटेरी प्याड समेत वितरण गरिएको थियो । विराट हेल्थ केयर इन्डस्ट्रिजको सहकार्यमा प्याड वितरण गरिएको थियो ।

महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर बाल कृष्ण साहले सहजीकरण गरेको सचेतना कार्यक्रममा महिनावारी, यसले शारीरिक रूपमा पार्ने प्रभाव, सरसफाइ, भ्रम र यथार्थका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए । एक जना महिलाले जीवनकालमा पचास हजार भन्दा बढीको प्याड प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डाक्टर साहले जानकारी दिए ।

विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार सेवा सप्ताह अन्तर्गतका कार्यक्रम अन्तर्गत महिला स्वास्थ्यलाई सुरक्षित राख्नका लागि र सचेतना जगाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र विद्यालय शिक्षा कार्यक्रम अन्तरगत कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

विद्यालय तहमा रहेका बालिकाहरूको उपस्थिति रहेको कार्यक्रममा बालिकाहरूले आफूलाई लागेका जिज्ञासा राखेका थिए भने डाक्टर साहले सो जिज्ञासाको समाधान गरेको कार्यक्रम संयोजक मेलिना कार्कीले जानकारी दिए  ।

जेसीजको सेवा सप्ताह अन्तर्गत  रक्तदान, स्वास्थ्य शिविर र संसारीमाई स्थान सरसफाइ अभियान लगायतका कार्यक्रम सम्पन्न हुने विराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए ।

कार्यक्रममा विराटनगर जेसीज बोर्ड, पदाधिकारी,पूर्व अध्यक्षहरू, स्कुलका प्रधानाध्यापक लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।