धरान : लागुऔषध ब्राउनसुगर सहित बुधवार प्रहरीले धनकुटाको हिलेबाट ६ जना युवा र इटहरीमा होटेल सञ्चालन गर्दै आएका १ जना सहित ७ युवाले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धनकुटाको हिलेबाट पक्राउ पर्नेहरूमा स्थानीय ३१ वर्षीय राजेश तामाङ, २९ वर्षीय विनोद घिमिरे, २५ वर्षीय फुर्वा तामाङ, २६ वर्षीय पदम न्यौपाने, २७ वर्षीय युवराज बिक र पाख्रीबास-३ का २५ वर्षीय सरोज तामाङ छन् ।

उनीहरूबाट २ ग्राम ५६० मिलिग्राम कडा लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ । हिले प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाख्रीबासको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर बरामद भएपछि लागुऔषध सँगै उनीहरूलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी इटहरी-६ मा होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय सुनिल चौधरीलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित उनको होटेलबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।