धरान : अनुगमनको नाममा अनधिकृत व्यक्ति, युट्युबरहरुले धरानका प्रतिष्ठित डाक्टर तपनकुमार तरफदारको भिडियो खिचेर मानमर्दन गर्ने प्रयास गरेको विषयले उपमहानगरपालिकाको अनुगमन गर्ने शैलीको चौतर्फी आलोचना भइरहेको छ ।
यसै बिच आज शुक्रवार मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, डा.तपन तरफदार जनप्रतिनिधिहरू, अनुगमन अधिकृत, स्वास्थ्य महाशाखा प्रमुख लगायतको उपस्थितिमा नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर कमिटीले मेयर साम्पाङलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
महासङ्घ नगर अध्यक्ष शिवराज श्रेष्ठको नेतृत्वमा गएको टोलीले व्यावसायिक प्रतिष्ठान सहित स्वास्थ्य क्लिनिक, ल्याब मेडिकल सेन्टरमा अनुगमन गरेर मिडिया मार्फत सृजित भ्रमपूर्ण र अमर्यादित प्रचार बारे गुनासा र सुझाव सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
अनुगमन अधिकारीले भन्दा मिडियाको नाममा सामाजिक सञ्जालमा कथित पत्रकारिता गरिरहेका व्यक्तिको ठाडो, अमर्यादित र असान्दर्भिक कुरा गरिएको भिडियोले आतङ्क मच्चाएको कुरा टोलीले राखेको थियो ।
अनुगमन जरुरी र स्वागतयोग्य भएपनी मिडिया आतङ्क गलत भएको बताएका महासङ्घको टोलीले कुन युट्युब मिडिया तथा फेसबुक, कथित पत्रकारको नाम भने उल्लेख गरेन ।
सोही अवसरमा डेंगुको परीक्षण शुल्क घटाएर एकरूपता ल्याउने, पौष्टिक सामाग्री बेचबिखनका बारेमा हालसम्म नगरपालिका बाट सञ्चालन अनुमति नभएकोमा पनि ध्यानाकर्षण गराइएको छ ।
स्वीकृति बाँकी रहेका स्वास्थ्य प्रदायक व्यवसायीलाई सहजीकरण गर्न भोलि सम्बद्ध संस्थाका प्रतिनिधिमूलक पदाधिकारी र स्वास्थ्य महाशाखा बिच बैठक बसी निर्णय गरिने सहमति भएको बताइएको छ ।
उपमहानगरपालिकाले अनुगमन गर्दा सम्बन्धित अधिकृतले मात्र व्यवसायीलाई प्रश्न गर्ने पत्रकार महासङ्घको आधिकारिक प्रतिनिधि टोलीमा हुनुपर्ने फोटो, भिडियो, विचार विज्ञको मात्र पाउने व्यवस्था गर्न सुझाव दिइएको छ ।
उक्त छलफलमा अनुगमन अधिकृत वेदराज सापकोटा, स्वास्थ्य विभाग प्रमुख उमेश मेहता, विभागीय प्रमुखहरू समेत सहभागी थिए ।
PR TApan