इटहरी : जनता बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचनमा ६०४ मत खसेको छ । १३ सदस्यको लागी  शनिवार भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको हो ।

बिहान ९ बजे देखी ३:३० बजे सम्म जनता क्याम्पसकै भवनमा निर्वाचन सम्पन्न भएको छ । दलीय रूपमा ५ दलको गठबन्धन र स्वतन्त्र उम्मेदवार बिच रोचक  प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त गठबन्धन बनेको छ । निर्वाचनको खुल्ला प्रतिस्पर्धामा काँग्रेसबाट ५, एमाले बाट ४, राप्रपा २ र माओवादी केन्द्रका १ जना छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एक सदस्य लिएर गठबन्धनमा सहभागी भए पनि शुक्रवार नै गठबन्धन बाहिर रहने निर्णय गरेको छ । 

१७ सदस्य रहने सञ्चालक समितिमा ४ जना मनोनीत हुन्छन् । जसपाले मनोनीतमा भाग पाउने भएको छ । निर्वाचित र मनोनीत भएको समितिले अध्यक्ष सहित पदाधिकारी चयन गर्छ ।

काँग्रेसबाट विकाश केसी (खत्री), शिवराज दाहाल, शेखर लुइँटेल, तीर्थराज पराजुली र अम्बिकादेवी श्रेष्ठ छन् । केसीलाई अध्यक्ष बनाउने सहमति सहित गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । रेवतीप्रसाद घिमिरे, ईश्वर भट्टराई, दिनेश भट्टराई र भैरव प्रसाद सापकोटा एमालेको कोटामा उम्मेदवार भएका छन् । राप्रपा बाट युगप्रिय निरौला र विकल रेग्मी छन् । माओवादीबाट मुक्तिनाथ रिजालको उम्मेदवारी परेको छ ।

स्वतन्त्र उम्मेदवार दिनेहरूमा मातृका रेग्मी, उर्मिलादेवी कटवाल, नारायण सुवेदी, पेशल कुमार लम्साल, कुलबहादुर कार्की (राजकुमार), ख्याम प्रसाद तिम्सिना, पुष्प कार्की, परशुराम दुलाल, ठमनाथ लम्साल, टङ्कप्रसाद खनाल, गणेश बुढाथोकी, रमेश खत्री, पुण्यप्रसाद अधिकारी, जितेन्द्र रम्तेल र गङ्गाप्रसाद भट्टराई छन् । जसमध्ये बुढाथोकी, लम्साल र खत्री नेकपा एकीकृत समाजवादीका नेता हुन् ।