इटहरी : सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । सामाजिक सञ्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आइतबार छापा मारेको हो ।
विशेष गरी पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलीले ग्रुपमा छापा मारेको हो । कर्मचारीहरूलाई ६० हजारसम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थालेपछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । 
पछिल्लो समय ठगीका नयाँ-नयाँ शैली देखा परेका छन् । सर्वसाधारणहरू जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफूहरूले कार्यालयमै गएर छापा मारेको बताए । केही दिन देखि सामाजिक सञ्जालमा ६० हजारसम्म तलब दिने भन्दै विज्ञापन आइरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले बताए । ग्रुपको सामान बेच्नका लागि उनीहरूले सर्वसाधारणहरूलाई झुटो विज्ञापन गरेको पाइयो ।
यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सतर्कता अपनाउन मेयर पौडेलको आग्रह थियो । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिसनको लागि कर्मचारीहरूले विज्ञापन गरेको स्वीकार गर्दै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्न नहुने बताए । यसरी सर्वसाधारणलाई झुक्काउने काम तत्काल रोक्न भन्दै आगामी दिनमा यस्ता विज्ञापन गरे कारबाही गरिने उनको भनाई थियो । इटहरीमा ठगीका घट्नाको विषयमा आफूहरू चलाखी पूर्ण रूपमा काम गरिरहेको उनको भनाई थियो ।
chhapa