धरान : सर्वसाधारण उपभोक्ताको भान्सा दैनिक तरकारी, अचारमा चाहिने टमाटरको बजार भाउ आकासिएको छ । साता अघि ४० देखी ६० रुपैयाँमा खुद्रा किनबेच हुँदै गरेको टमाटर आइतबार तरकारी बजारमा प्रति केजी १७० देखि १८० सम्म किनबेच भइरहेको थियो ।

बर्खायाममा हरियो सागसब्जी, फलफूल तथा तरकारीका लागि धरान पहाडी क्षेत्रबाट आउने वस्तुमा निर्भर छ । टमाटर खेतीका लागि खेतीयोग्य जमिन धनकुटाको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान मानिन्छ ।

धनकुटा र तेह्रथुमबाट धरान-१३ स्थित कृषि बजारमा दैनिक ३० टन टमाटर आउने गरेको छ । कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने ‘त्यस मध्ये धरान बजारमा २० टन खपत हुने गरेको छ ।’

उनका अनुसार टमाटरको बजारमा अहिले थोक भाउ नै प्रति केजी १३० सम्म पुगेको छ । स्थानिय बजारमा खुद्रा भाउ भने तरकारी व्यवसायीहरूले मनपरी गरेको हुनसक्ने उनले बताए ।

नेपाली टमाटरले भारतीय बजारमा भाउ राम्रो पाएको हुँदा टमाटर भारतीय बजार निर्यात हुन थालेको  छ । बर्खा सिजनमा टमाटरको मूल्य वृद्धि हुने भए पनि यो वर्ष भारतीय बजारमा धरान कृषि बजारबाट दैनिक १० टन टमाटर निर्यात हुन थालेको भट्टराईले बताए ।

धरानमा टमाटरको भाउ अत्यधिक वृद्धि हुनुमा टमाटरको आयात रोकिएकोले हो । भट्टराईका अनुसार  अघिल्लो वर्ष बजारमा नेपाली टमाटर आपूर्ति कम हुनु साथ भारतीय टमाटर आयात हुन्थ्यो ।

यसपालि नेपाल सरकारले कृषिजन्य बस्तुमा आयातमा रोक लगाएकोले भारतीय टमाटर आयात नहुँदा भाउ आकासिएको हो ।

स्थानिय सरकार धरान उपमहानगरपालिकाले बजार अनुगमन गरे तापनि टमाटरमा ध्यान दिएको छैन । सामाजिक सञ्जालमा भने मौनबुधुकमा ३० रुपैयाँ केजीमा पाइने टमाटर धरान बजारमा १८० पुग्नु आश्चर्यजनक भएको टिप्पणी गरिएको देखिन्छ ।

नेपाल कृषि प्रधान देश भए पनि युवा जनशक्तिलाई कृषि प्रतिको मोह नहुँदा जग्गा बाँझो रहेकोले पहाड रित्तिएकोले पनि उत्पादन घटेका अनुमान गरिएको छ । उत्पादन भएको टमाटर भारत जान थाले पछि स्थानिय उपभोक्ता मूल्य वृद्धिको मारमा परेका छन् ।

भारतीय बजारमा टमाटर निर्यात भएसँगै किसानहरूले बोटमै प्रतिकिलो ११० पाएकोले खुसी भएको  सहिदभुमी गाउँपालिका वडा ६ का कृषक बलराम राईले बताए ।

किसानले टमाटरमा जस्तै भाउ पाए अरू कृषिजन्य वस्तुमा पाए नेपालमै पनि बसेर खेती गर्न सकिने उनको भनाई छ । नले भने ‘बिचौलिया बिचमा नपसे थोक व्यापारी र खुद्रा व्यापारीले थोरै रकम राखेर जनता समक्ष पुर्‍याउँदा मूल्यमा यति ठुलो अन्तर आउने थिएन ।’