इटहरी : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व सचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ ।

मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता) मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।