धरान : नेपाली कांग्रेसले धरानका घरघरमै पुगेर डेङ्गुबाट बच्ने सचेतना सहित वृक्षारोपणका लागि बिरुवा वितरण गर्दै सुरु गरेको ग्रिन एण्ड क्लीन धरान अभियान आइतबार धरान वडा ८ पुगेको छ ।

धरानका २० वटै वडामा पुग्ने उक्त अभियान गएको साउन ६ गते धरान वडा १ देखी सुरु गरिएको थियो । वडा ८ मा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गाना, सुनसरी जिल्ला सभापति इनरुवा नगर प्रमुख केदार भण्डारी पनि सहभागी भए ।

केन्द्रीय सदस्य ढुङ्गानाले सरसफाइ र स्वच्छ वातावरण अति आवश्यक रहेकाले कांग्रेस क्षेत्रीय समितिको एक घर एक बिरुवा, डेङ्गु नष्ट गरौँ अभियान सान्दर्भिक रहेको बताए । इनरुवा नगर प्रमुख भण्डारीले धरान डेङ्गुले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रय अभियान समेत सञ्चालन गर्न क्षेत्रीय समितिलाई आग्रह गरे ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरू समेत सहभागी हुँदा हौसला बढेको बताउँदै धरानले झेलिरहेको डेङ्गु महामारी नियन्त्रण गर्न पार्टी, नागरिक समाज, सामाजिक सङ्घसंस्था लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसको एक महिने ग्रिन एण्ड क्लीन धरान अभियान भदौ १० गतेसम्म सञ्चालन हुने सभापति तामाङले जानकारी दिएका छन् ।

dharan 8 abhiyan 2