इटहरी : छोरीलाई विष खुवाएर हत्या गर्ने बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका-२ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेपछि बुधवार बिहान पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले विष खुवाएका हत्या गरेका हुन् । जबरजस्ती विषादी खुवाएपछि बेहोस रहेकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको उनले बताए ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले छोरीलाई जबरजस्ती तरकारी बालीमा प्रयोग हुने विषादी खुवाएको प्रहरी निरीक्षक चौलागाँईको भनाइ छ ।
स्थानीयका अनुसार अर्जुनले बारम्बार रक्सी सेवन गरी छोरीलाई कुटपिट गर्ने गरेका थिए । घरमा कुटपिट हुने डरले छोरी राधिका साथीको घरमा जाने गरेकी थिइन । विवाह गर्ने उमेर भएकी छोरी अर्काको घरमा बसेर आफ्नो बेइज्जत भएको भन्दै अर्जुनले विष खुवाएको बताइएको छ ।