धरान : नेपाली कांग्रेस कार्यकर्तामा निष्क्रियता, असन्तुष्टि बढ्नुको मुख्य कारण केन्द्रीय तहमा देखिएको गुटबन्दी नै भएको स्थानिय कार्यकर्ताहरूले बताएका छन् ।

गुटबन्दीकै कारण टिकट वितरण देखी चुनावी मैदानमा समेत एक गुटले अर्का गुटलाई नसमेट्ने अवस्थासम्म अनुभव गरिएको उनीहरूले सुनाए ।

कांग्रेस केन्द्रीय समितिको आन्तरिक विशेष अभियान अनुसार सुनसरी-१ क्षेत्रीय समितिद्वारा आज बुधवार आयोजित भेलामा केन्द्रीय सदस्य तथा अभियानका विशेषका प्रतिनिधि आङगेलु शेर्पालाई असन्तुष्टिहरू सुनाइएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक लगत्तै साउन २० देखी ३० गतेसम्म पार्टीले आन्तरिक विशेष अभियान चलाएको छ । त्यसका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएका छन् ।

सोही अनुसार सुनसरी-१ मा केन्द्रीय सदस्य शेर्पाको उपस्थितिमा आन्तरिक असन्तुष्टिका बारेमा छलफल गरिएको हो ।

कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले छलफलमा प्रकट भएको असन्तुष्टि केन्द्रीय समितिमा उठ्ने असन्तुष्टि जस्तै भएको बताए । उनले भने ‘पार्टी सङ्गठन ठिक छ, केन्द्रीय समितिमा उठेका असन्तुष्टिका कुरा जस्तै यहाँ पनि नउठ्ने कुरा आउँदैन ।’

सभापति पोखरेलले केन्द्रीय समितिले डेंगु पीडितलाई सहयोग गर्न पत्र पठाएको उल्लेख गर्दै भने ‘धरान डेंगुबाट आक्रान्त छ, पार्टीसँग सिटामोल, जीवन जल किन्ने पैसासम्म छैन ।’ केन्द्रीय समितिले केन्द्रीय प्रतिनिधि आउनु हुँदा सिटामोल र जीवन जल पठाई दिनु पर्दैन ? भनी प्रश्न गरे ।

छलफलमा कार्यकर्ताले कांग्रेसले नेविसंघ केन्द्रीय समितिमा ७१० सदस्यको मनोनयनले नेविसंघको शाख घटाएको बताए । वराहक्षेत्रका रोहित काफ्लेले प्रश्न गरे ‘नेविसंघमा नेपालमा नभएकाहरू पनि केन्द्रीय सदस्य बनेका छन् त्यसले सङ्गठनलाई के फाइदा गर्छ ?’

उनले पछिल्लो समय कांग्रेसका नेतृत्वमा बस्नेहरूको सामाजिक छवि जग्गा दलाल, ठेकेदार, व्यवसायीको रूपमा देखिन थालेको बताउँदै जनताको मन जित्न पार्टीका स्थानिय नेता सामाजिक छविको हुनुपर्नेमा जोड दिए ।

धरान-१६ का किरण आचार्यले कांग्रेस क्षेत्रीय, जिल्ला समितिले सदस्य मनोनयन गर्ने पद्धति ठिक नभएको बताए । वडा समितिलाई थाहै नदिई एकै चोटि क्षेत्रीय, जिल्ला सदस्य बनाइदा पार्टीको पदले समस्या उत्पन्न गरेको सुनाए ।

प्रेमप्रसाद पौड्यालले महाधिवेशन प्रतिनिधिको चुनावमा उठेपछि आफूलाई अर्कै गुटका मानेर पार्टीले चुनावका बेला समेत कुनै काम नदिएको गुनासो गरे । उनले भने ‘मलाई गुटसुटको मतलब छैन तर, क्षेत्रीय प्रतिनिधि भएकाले जिम्मेवारी दिनुपर्‍यो मात्र भनेको हुँ ।’

महिला सङ्घकी निर्मला नेपालले महिलाहरूका लागि पार्टीले कुनै कार्यक्रम नदिएको गुनासो गर्दै आज महिला सङ्घको स्थापना दिवस भएपनि कुनै कार्यक्रम नभएको बताइन् ।

छलफलमा डेढ दर्जन बढीले पार्टीलाई चलायमान बनाउन सुझाव दिदैं कमी कमजोरीका बारेमा बताएका थिए । प्रजातान्त्रिक प्राध्यापक सङ्घका केन्द्रीय सदस्य बद्री तामाङले पार्टी प्रणालीमा चल्नु पर्नेमा जोड दिए ।

यसैगरी मनोज घिमिरे, सुवर्ण पलिखे, निलकुमारी गिरी, युवराज भट्टराई, मदनकुमार तामाङ, सुमन श्रेष्ठ लगायतले गुटबन्दीका कारण पार्टीमा शिथिलता आएको बताए । धेरैले पार्टी प्रणालीमा महत्त्वपूर्ण मानिएको आन्तरिक छलफलमा पनि पार्टीको कार्यसमितिकै पदाधिकारी, सदस्यहरू अनुपस्थित रहेकोमा प्रश्न उठाएका थिए ।

छलफल अघि कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले पार्टीमा सभापति र महामन्त्रीमा विवाद छ, शेखर कोइराला र शेरबहादुरमा गुट छ भनेर काल्पनिक बहसमा अल्झिने काम नभएको बुझाउन आन्तरिक विशेष अभियान पार्टीले चलाएको बताए ।

उनले फेसबुकमा कांग्रेसका कुरालाई लाइक कमेन्ट नगर्ने तर कांग्रेसको बारेमा गरिएको निराधार टिप्पणी हेरेर नचाहिँदो कुरा गरिहिँड्ने प्रवृत्ति कांग्रेस कार्यकर्ताले त्याग्नु पर्ने बताए । उनले भने ‘फेसबुकमा कांग्रेसको कुरा लाइक नगर्नेहरू पार्टीले मलाई केही दिएन भनेर लेख्ने गर्छन् ।’

कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको छलफलमा कांग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापा, पूर्व मन्त्री सिताराम मेहता, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, महासमिति सदस्य धरानका पूर्व मेयर तिलक राई लगायतको उपस्थिति थियो ।

kangress bises abhiyan