विराटनगर : विराटनगर-१४ मा अवस्थित काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा सञ्चालित ब्याचलर इन टेक्निकल एजुकेसन आइ टी मा अध्ययनरत विद्यार्थीहरूले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

गत असारमा काठमाडौँ विश्वविद्यालयबाट सञ्चालित प्रथम वर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले यो सफलता प्राप्त गर्न सफल भएका हुन ।

कलेजका विद्यार्थीहरू तुसार गणेश, कृतिज्ञा  कटवाल, सुशान्त नेपाल, दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन् भने ८ जना विद्यार्थीहरूले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकी विद्यार्थीहरूले ३.२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरूको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्त्वपूर्ण योगदानका कारण आफूहरू सफल हुन सकेको बताए ।

त्यस्तै कृतिज्ञा कटवालले विद्यार्थी मैत्री सिकाइ वातावरण भएका कारण छोटो समयमा नै आफूहरूमा अध्ययन प्रति रुचि जागेको र कक्षाका सम्पूर्ण विद्यार्थीहरू उच्च जिपिएका  साथ उत्तीर्ण हुन सफल भएको बताइन् ।

कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौँ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरूको सामूहिक तथा व्यक्तिगत मेहनतका कारण ठुलो सफलता हात लागेको हो । साथै सूचना प्रविधि विषय प्रति विद्यार्थीहरूको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनको भनाइ छ । 

कलेजका प्रधानाध्यापक चिन्तामणि बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ, साथै विद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिइएको छ, साथै काठमाडौँ विश्वविद्यालयबाट समय समयमा आउने प्राध्यापकहरूको गाइडेन्स पनि सफलताको कडीका रूपमा स्थापित भएर पहिलो वर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिए ।

साथै परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि विद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिए । यो प्रथम सेमेस्टरको परीक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत विद्यार्थीहरूलाई हौसला प्रदान गरे ।

काठमाडौँ विश्वविद्यालयको साझेदारीमा सञ्चालित एस्पायर कलेजमा होटेल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेसन आइ टी मा यस वर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि विद्यार्थीहरू भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

aspire col.

aspire col. 3