इटहरी : नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयक विरुद्ध निजी विद्यालयहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले साउन २८ गते देखी पठन पाठन बन्द गर्ने घोषणा गरेका हुन् ।

प्याब्सन, एनप्याब्सन र हिसान सुनसरीले संयुक्त रूपमा सरकारको विरोधमा उत्रिने चेतावनी दिएका छन् । बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याउन लागेको शिक्षा विधेयकका केही प्रावधानहरू सच्याउनुपर्ने उनीहरूको माग छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक संसदबाट पारित भएको अवस्थामा विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने हिसान सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराईले बताएका छन् । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ । 

गत साता मन्त्रिपरिषद्ले पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । विधेयकको दफा ४ को उपदफा ३ र ४ ले गरेको व्यवस्था आपत्तिजनक भएको भट्टराईको टिप्पणी छ ।

संविधानमा सम्पत्तिको हक सँग बाझिने गरी सरकारले ल्याउन लागेको प्रावधान गलत भएको बताइएको छ ।

private school sunsari