दमक : दमकमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन भदौ २ देखी नगरपालिकाले नयाँ ट्राफिक योजना लागु गर्ने भएको छ ।

बजार क्षेत्रका सडक एक तर्फी पार्किङ देखी ठुला सवारी साधनलाई बजार क्षेत्रमा बिहान र बेलुका मात्रै प्रवेश दिने नयाँ नियम कार्यान्वयन गरिन लागेको छ । 

बजार क्षेत्रको सडक व्यवस्थापन सहज बनाउन नगरपालिकाले सरोकारवालाहरू सँग छलफल गरेपछि नयाँ योजना बनाएको हो ।

राजनैतिक दलका प्रमुखहरू, इलाका ट्राफिक प्रहरी प्रमुख, टोल विकाशका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, पत्रकारहरूको सहभागितामा आइतबार भएको छलफलमा नगर प्रमुख राम कुमार थापाले नगरपालिकाको ट्राफिक व्यवस्थापन सहज बनाउन योजना प्रस्तुत गरेका थिए ।

नगरपालिकाको मुख्य चौक देखी बेलडाँगी रोड, जेसिज चौकबाट फर्निचर लाइन, थानालाईन हुँदै बजार जाने सडक, बस पार्कबाट हनुमान मन्दिर हुँदै फाल्गुनन्द चौक जाने सडक र फाल्गुनन्द चौकबाट संगम चौकसम्मका सडकहरूलाई एकतर्फी पार्किङ गराइने देखी नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको निश्चित ठाउँ देखी बाहेक अन्त सवारी साधन रोक्न नपाइने, सिटी सफारीको निश्चित पार्किङ क्षेत्र तोकिने लगायतका योजना रहेको छ ।

नगर प्रमुख थापाले भने ‘बजार क्षेत्रका सडकमा पन्ध्र दिन एक पट्टि र अर्को पन्ध्र दिन अर्को पट्टि एकतर्फी पार्किङ गरिने गरी तयारी गरिएको छ ।’

उप प्रमुख रेगिना भट्टराईले नगरपालिकाको योजना कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । छलफलमा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ, इलाका ट्राफिक प्रमुख सुरेन्द्र खड्का, नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई लगायतले नगरपालिकाको योजनामा पुर्ण सहमति जनाएका थिए ।