धरान : ताप्लेजुङको मैवाखोलामा आइतबार आएको बाढीले मेरिङदिन गाउँपालिका-३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका-५ जोड्ने मोटरेबल पुलसम्म जाने ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ ।

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका-८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार प्रदेशका विभिन्न स्थानहरूमा आएको अविरल वर्षासँगै बाढी पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएका छन् ।

सडक, बाटो अवरुद्ध भएका स्थानहरूमा प्रहरी टोली खटी गई स्थानीय निकायहरूसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

वराहक्षेत्र नगरपालिका-१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरी बाटो अवरुद्ध भएको छ । इलाम नगरपालिका-४ अधिकारी चोक स्थित सडकमा पहिरो झरी बाटो रुद्ध भएको छ ।

यसैगरी तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडक खण्डको देविथानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-७ खुदुवावारी-शनिश्चरे सडक खण्डको बिरिङ खोलाको पुलको सडक मुनीको पङ्खामा बाढीले क्षति र्पुयाउदा पुल जोखिपुर्न बनेको छ । उक्त स्थानमा समेत प्रहरी टोली खटी गई स्थानीय निकायको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको छ ।