धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उनको आदेशमा धरान घण्टाघरबाट निष्कासित दुई कर्मचारीलाई पुनः नियुक्त गर्न ३ मजदुर सङ्गठनले ७ दिने अल्टिमेटम दिएको छ ।

मेयर साम्पाङको आदेशमा घण्टाघरमा १७ वर्ष सम्म काम गर्दै आएका कर्मचारीद्वय नरबहादुर लिम्बू र प्रकाश राईलाई बिनाकारण खाली हात निष्कासित गरिएको थियो ।

सेवारत कर्मचारीलाई बिनाकारण हटाएकोमा ध्यानाकर्षण गराउँदै मेयर साम्पाङलाई धरानका प्रमुख ३ राजनीतिक दलका भातृ सङ्गठन नेपाल ट्रेड युनियन महासङ्घ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काँग्रेसले संयुक्त रूपमा मेयर साम्पाङलाई  शुक्रवार उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै अल्टिमेटम दिएको हो ।

मजदुर सङ्गठनहरूले स्थापना काल देखि श्रम गर्दै आएका ज्यालादारी श्रमिकको रूपमा कार्यरत श्रमिकलाई  बिना कारण जागिरबाट हटाउनु श्रम प्रतिको घोर अपमान भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नगर प्रमुखले न्यूनतम ज्याला लिएर काम गरिरहेका श्रमिकलाई रोजगारीबाट विमुख  गराएको घटनाप्रति तमाम मजदुरहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग पुरा नभए सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर साम्पाङले भने "बजारमा निकै नकारात्मक हल्ला चलेको छ तर कसै सँग लिनु र दिनु छैन ।" मेयर भइसकेपछि नियम कानुन नीति नियम पालना गर्नुपर्ने र गराउनु पर्ने बाध्य रहेको बताए ।

नियमअनुसार वृद्ध व्यक्ति र बालबालिकालाई काम लगाउन नमिल्ने कुरा उल्ले गर्दै भने " उमेर हदबन्दी भएर ती व्यक्तिहरूलाई निकालिएको हो ।"

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले उपमहानगरपालिकामा स्थायी निजामती, करार कर्मचारीको नीति नियम भएकाले उमेर हद लागु हुने तर ज्यालादारी कर्मचारीको हकमा नियम नभएकोले समस्या उत्पन्न भएको बताए ।

स्थायी कर्मचारीले नधान्ने भएकाले ज्यालादारी र करार कर्मचारीहरू राख्ने प्रचलन रहेको र दैनिक ज्यालादारी राख्दा आवश्यक काम पर्दा राख्ने नपर्दा निकाल्ने गरिएको उनको भनाई छ ।

कर्मचारी नियुक्त गर्दा कति समय सम्म राख्ने त्यस्तो नीति  नियम नभएकाले  परिमार्जन हुनुपर्ने उनले बताए ।

निकालिएका ७ जना कर्मचारीको विषयमा छलफल भई रहेको उल्लेख गर्दै उनले भने "निष्कर्ष निस्कन समय लाग्न सक्छ ।"

ध्यानाकर्षण बुझाउँदै ट्रेड युनियनका लीला प्रधानले विना कारण विना गल्ती श्रमिकलाई निकाल्नु श्रम ऐन अनुसार अन्यायपूर्ण  भएको बताए ।

उनले भने "मजदुरहरूको रोजीरोटीबाट वञ्चित गरिन्छ भने ७ दिन भित्र सुनवाइ नभए धरानको घण्टाघर देखि आन्दोलन सुरु गरिने छ ।"

मेयर साम्पाङलाई धरानमा मजदुर सङ्गठन छ भनेर थाहा नभएकोले अव मजदुर सङ्गठन छ भनेर देखाउने दिन आएको उनको भनाई छ ।

यसअघि पनि धरान खानेपानी बोर्डका सवारी चलाकलाई विना कारण निकालिएकोले मजदुर सङ्गठनको माग सुनवाइ नगरिएकोले अव झन् मजदुर सशक्त आन्दोलन हुने उनले बताए ।

मजदुर नेता कमल भट्टराईले घर परिवार छोराछोरी श्रीमती सबै घण्टाघर भनी रातदिन सेवा गरेका नर बहादुर लिम्बु (राजा) र प्रकाश राईलाई हटाएको ज्यालादारीको समय अवधि र उमेर हद नलाग्ने दाबी गरे ।

पुनः नियुक्तिका लागि २० वटै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई अनुरोध गर्ने गर्दे राजनैतिक दल लगायत सङ्घ संस्थालाई आव्हान गर्ने बताउँदै उनले भने "यदि ७ दिन भित्र नियुक्ति नभए श्रम ऐनलाई आधार मानेर अदालत जानुका साथै आन्दोलन गरिने छ ।"

ध्यानाकर्षण पत्रमा नेपाल ट्रेड युनियन नगर अध्यक्ष सम्सेर वर्देवा,अखिल नेपाल ट्रेड युनियन महासङ्घ धरान अध्यक्ष छविलाल बिष्ट, नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सहसचिव पदम सुन्दर लिम्बुले हस्ताक्षर गरेका छन् ।