धरान : धरानमा 'चौथो बृहत् खुल्ला लाखे नाच प्रदर्शनी तथा सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता' हुने भएको छ।
नेवाः देय् दबू धरानको आयोजनामा नेपाल सम्बत ११४३ गंलागा पञ्चमी अर्थात् भाद्र १८ गते भानुचोकमा खुल्ला लाखे नाच प्रतियोगिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।
लाखे नाच प्रतियोगितामा सुनसरी जिल्लाभरिका लाखे नाचहरूलाई संस्थागत एवम् खुल्ला समूहगत रूपमा सहभागी गराइने भएको छ ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई नगद २५ हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १५ हजार, प्रमाणपत्र, तेस्रो हुनेलाई नगद १० हजार र प्रमाण पत्र, सान्त्वनालाई नगद ५ हजार र प्रमाण पत्र प्रदान गर्नुका साथै सहभागी प्रतियोगीहरूलाई प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताए ।
संस्थागत एवम् खुल्ला समूहगत रूपमा सहभागी संस्था दर्ता भाद्र १५ गते सम्म गरिसक्नु पर्नेछ भने संस्थागत वा खुल्ला समूह जुन सुकै भएपनि सहभागी  संस्था लाखे दर्ता गर्न नगद २ हजार शुल्क लाग्ने अध्यक्ष शाक्यले बताए ।
धरानमा लाखे नाच देखाउन २२ समूह सूचीकृत
लाखे नाचको नाममा विकृति, विसङगती बढ्दै गएपछि लाखे नाचको नाममा पैसा उठाउने जस्ता क्रियाकलाप बढ्न थालेपछि नेवाः देय् दबू धरान उपमहानगर समितिमा दर्ता भएर सूचीकृत भएका लाखे समूहले मात्रै लाखे नाच देखाउन पाउने गरी अघिल्लो वर्ष २०७९ पछि बाध्यकारी नियम कार्यान्वयन भएको थियो । 
यो वर्ष भाद्र ४ गते नाग पञ्चमीको दिन देखी सुरु हुने लाखे नाच्न २२ वटा समूह नेवाः देय् दबू धरान समितिमा सूचीकृत भएको सचिव दीपेन्द्र श्रेष्ठले बताए । 
धरानमा बसोबास गर्ने नेवार समुदायमा हरेक वर्ष नाग पञ्चमीको दिन देखि कृष्ण अष्टमीको भोलिपल्टसम्म लाखे नाच्ने परम्परा रहेको छ । सदा वर्षहरू झैँ यो वर्ष पनि धरानका नेवार समुदायले धरानको सिंहदेवी चौकमा रहेको सिंहदेवी मन्दिरमा विधिवत् पूजा गरी लाखे नाच सुरु गरिने भएको छ ।
नाच मर्यादित, व्यवस्थित बनाउन आचारसंहिता
धरानमा संस्थाबाट स्वीकृति नलिई जथाभाबी लाखे नाच निकाल्ने प्रवृत्तिको अन्त्य गर्न नेवाः देय् दबू धरानले यस वर्ष पनि बाध्यकारी नियम कडाइ साथ लागु गर्ने भएको छ  ।
धरानमा लाखे नाचलाई मर्यादित बनाउनको लागि दबूले आचारसंहिता नै जारी गरेर कडाइ लागु गरिने भएको छ । नेवार जातिको प्रमुख संस्कृति लाखे नाच जथाभाबी निकालेर विकृति फैलाएकोले कडाइ गर्ने निर्णय गरिने भएको छ ।
नाग पञ्चमीदेखि सुरु हुने लाखेनाच अत्यधिक रूपमा निकाल्ने गरिएको छ । जथाभाबी रूपमा निस्कने लाखेनाचले विकृति बढाएको भन्दै दबूले धरानमा लाखे नाच मर्यादित तथा व्यवस्थित गर्न ९ बुँदे आचारसंहिता जारी गरेको छ।
दबूले जारी गरेको आचारसंहितामा धरान क्षेत्रभित्र रहेका सम्पूर्ण लाखे नाच नचाउने समूह वा संस्थाहरू नगर दबूँमा अनिवार्य दर्ता गराउँदै सूचीकृत गर्नुपर्ने उल्लेख छ।
lakhe nach 1
यस्तो छ ९ बुँदे आचारसंहिता :
१. धरान क्षेत्र भित्र रहेका सम्पूर्ण लाखे नाच नचाउने समूह वा संस्थाहरू नगर दबूँमा अनिवार्य लाखेनाच गराउने कलाकारको विवरण सहित संस्था वा समूह सूचीकृत गर्नुपर्नेछ ।
२. लाखे नाच समूह वा संस्थाहरू आफ्नो परिचय खुल्ने गरी व्यानर वा परिचय पत्र वा टिसर्ट लगाउनु पर्नेछ ।
३. धरान भित्र रहेका घर वा व्यापार व्यवसायी क्षेत्रमा आर्थिक सङ्कलन गर्न पाइने छैन । 
४. लाखे नाच गराउँदा स्वस्फूत रूपमा प्राप्त आर्थिक सहयोग वा निम्तो प्राप्त भई बढाने दिएको आर्थिक सहयोग (भेटी) ग्रहण गर्न सकिनेछ । 
५. धरान क्षेत्रबाट बाहिर जाने वा धरानमा आमन्त्रित लाखे समूहको उद्देश्य सहित लिखित जानकारी गराउनु पर्नेछ । 
६. मदिरा पान, मादक पदार्थ र लागूपदार्थ सेवन गरी लाखे नाच्न पाइने छैन । 
७. लाखे नाच संस्कारसँग प्रत्यक्ष सरोकार राख्ने समुदाय बाहेक अन्य समुदायले लाखे नाच गराउन पाइने छैन ।
८. बाल लाखे नाच गर्ने वा गराउने समूहलाई विशेष रूपमा केन्द्रित गर्दै उमेर नपुगेका बालबालिकाहरूलाई लाखे नाच समूहमा हिँड्न नदिन हुने सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गरिन्छ । कुनै अप्रिय दुर्घटना घटन गएमा सोको जिम्मेवारी स्वयम् लाखे नाच समूह वा अभिभावक हुनेछ । 
९. माथि उल्लेखित भएका कुनै बुँदा उलङ्घन गरेका पाइएमा ढोल, झ्याम्टा जफत गरिनुका साथै कानुनी बमोजिम प्रहरी प्रशासनको सहयोगमा कारबाही गरिने दबूँले जनाएको छ ।