धरान : नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन क्षेत्रीय कार्यसमिति धरानको आठौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन धरानमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभाले संस्थागत हितका लागि थप ५ नयाँ योजना प्रस्तुत गरेको छ ।

संस्थागत रूपमा तालिम सञ्चालन गरेका धरान भित्रका एनपिटिएमा आबद्ध तालिम केन्द्रहरूलाई पायक पर्ने गरी फिल्ड खोजी फिल्डलाई सुविधा सम्पन्न बनाई  तालिम सञ्चालन गर्न  तालिम हल व्यवस्थापन गरिने भएको छ ।

सामाजिक तथा खेलकुद विकासको लागि विद्यार्थी लक्षित कार्यक्रम आयोजना गरिने भएको छ भने एनपिटिए सञ्चालन र व्यवस्थापनका लागि वार्षिक काउन्सिलिङ प्रोग्राम आयोजना गरिने साथै अन्तर तालिम केन्द्र स्तरीय शारीरिक खेलकुद प्रतियोगिता आयोजना गर्ने र नयाँ सञ्चालन तालिम केन्द्रलाई एनपिटिएमा आबद्ध गर्न पुन पहल गरिने भएको छ ।

धरानका २ जना सञ्चारकर्मी सम्मानित :

nepal physical training 2सामाजिक क्षेत्रमा थुप्रै गतिविधि गरिरहेको संस्था नेपाल फिजिकल ट्रेनिङ एशोसिएशनको आठौँ वार्षिक साधारण सभाको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका २ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । 

धरानलाई कार्यक्षेत्र बनाएर सञ्चार क्षेत्रमा कार्यरत कपुरी न्युजका संवाददाता रश्मि प्रधान र गोरखापत्र दैनिक तथा विजयपुर एफएमका सम्वाददाता निशा राईलाई नगद १५ हजार सहित प्रमाणपत्रले सम्मानित भएका छन् । सम्मानितद्वयलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

एनपिटिए  क्षेत्रीय कार्यसमितिमा देवेन्द्र लिम्बु 

नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन क्षेत्रीय कार्यसमिति धरानको पाँचौँ अधिवेशनबाट देवेन्द्र लिम्बुको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति गठन भएको छ ।

कार्यसमितिमा उपाध्यक्ष गणेश चौहान, सचिव सन्तोष राई, सहसचिव सञ्जीव राई, कोषाध्यक्ष सन्तोष राई (वसन्त) रहेका छन्  भने सदस्यहरूमा सुनिल राई, सुर्या बहादर तामाङ, किसन राई, मदन राई, ईन्द्र इधिङ्गो, सुरेश पन्धाक, तेज कुमार राई, पारुहाङ तुम्बाम्फे रहेका छन् ।

आठौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनमा प्रमुख आतिथ्य एनपिटिएका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल राईले गरेका थिए भने अतिथिहरूमा केन्द्रीय सदस्यहरू हिमाल गुरुङ, रविन राई ,कुमार तामाङ,भीम मगरको, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई लगायतको सहभागिता रहेको थियो ।

साधारण सभामा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष देवेन्द्र लिम्बु, सदस्य गणेश चौहानले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राईले संस्थाले पत्रकारिता क्षेत्रलाई सम्मान गरी हौसला प्रदान गरेका धन्यवाद दिएका थिए भने प्रमुख अतिथि लगायत अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

एनपिटिए क्षेत्रीय कार्यसमिति धरानको पाँचौँ अधिवेशनको अध्यक्षता पर्वत राईले गरेका थिए । एनपिटिए धरानको २०६८ सालमा स्थापना भएको थियो ।

nepal physical training 3