इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा सभा अध्यक्ष इस्राइल मन्सुरीले मतदान गरेपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् ।

कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज सांसदको  उपस्थित हुँदा थापाका पक्षमा ४७ र विपक्षमा ३० मत खसेको छ । मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य तथा सभाध्यक्ष मन्सुरीले घोषणा गरे ।

गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान बमोजिम आज मत लिएका हुन् ।

उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौँ गएकी छन् । आफू उपचारमा गएको बताउँदै उनले बैठक चलाउने जिम्मा काँग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन् । ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भए ।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेपछि थापाको नियुक्ति बदर भएको थियो ।