धरान : सिद्धि नेवा: परिषद् र पासा खल धरानको संयुक्त आयोजनामा भएको ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ। 

सोमबार सिद्धि नेवा: परिषद्मा सम्पन्न तालिममा ५१ जना सहभागीहरू रहेका थिए ।

गत असार १८ गते देखि भाद्र ४ गते सम्म सहभागीलाई प्रमाण पत्र प्रदान गरी तालिम सम्पन्न भएको थियो । समापन कार्यक्रममा सहभागहरुले प्रशिक्षण अवधिमा सिकेको कला प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले धिमे बाजा तालिमले ५१ जना धिमे बाजा बजाउने कलाकार उत्पादन गरेकोमा खुसी व्यक्त गर्दै संस्थाले गरेका काम र योजनाबारे जानकारी दिए ।

नेवारहरूले शुभ साइतमा निकालिने धिमे बाजा मेला जात्रा पर्वहरूमा बजाउने लोकप्रिय बाजा हो । धरानमा धिमे बाजालाई प्रवर्धन र संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक समीर आर्चाजु श्रेष्ठ, रेवन तुलाधर र सहायक प्रशिक्षक श्वेता शाक्य र अङ्कित श्रेष्ठ रहेका थिए । प्रमुख प्रशिक्षक रेवन तुलाधरले सहभागीहरूको सिक्ने उत्साह र लगनशीलताको कारण प्रशिक्षण सफल भएको बताए ।

कार्यक्रममा पासा खलःका अध्यक्ष आयुष शाक्य,सहभागीको तर्फबाट सजन कुमार बज्राचार्य र रेशिका श्रेष्ठले तालिम सिकाई र व्यवस्थापकीय दृष्टिले उत्कृष्ट रहेको प्रतिक्रिया व्यक्त गरेका थिए।

कार्यक्रममा नेवा: देय दवूका केन्द्रीय सल्लाहकार सरला कायस्थ, केन्द्रीय उपाध्यक्ष अनिल मास्के, केन्द्रीय सदस्य नरेश कुमार शाक्य, जिल्ला अध्यक्ष वसन्त कुमार श्रेष्ठ, नगर अध्यक्ष मनोहर शाक्य, पासा खलःका निवर्तमान अध्यक्ष सन्तोष शाक्य, ३ नं. वडाध्यक्ष विद्या शाक्य लगायत खल: पुचहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजकहरू हरिकृष्ण श्रेष्ठ र अमृत श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन परिषद्का महासचिव मोहन श्रेष्ठले गरेका थिए ।

dhime-baja-3