इटहरी : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कोसी प्रदेश सरकार गठनमा संविधान विरोधी काम भएको बताएका छन् । अदालतले नगर भनेको विषय दलहरूले पुनः दोहोर्‍याएको बताए ।

मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले दलका शीर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेको भनाइ राखे । यस्ता गतिविधिले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् ।

"संविधानले एउटा अधिकार दिएको छ तर नेताहरू एक ठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ । यसरी देशलाई कहाँ पुर्‍याउन खोजेको हो ?" कोइरालाले प्रश्न गरे।

अदालतले नगर्नु भन्दाभन्दै शीर्ष नेताहरूले संविधान र अदालत माथि बल मिच्याईं गरेको उनको भनाइ छ । राजनीतिक दलहरूको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भाव समेत बिथोलिएको धारणा राखे ।