धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित डेङ्गु अस्पताललाई डेङ्गु परीक्षणका लागि सहज होस भनी कांग्रेसका मेयरका प्रत्याशी किशोर राईको पहलमा परीक्षण किट्सहरू प्रदान गरिएको छ ।

अस्पताललाई उपलब्ध गराइएका किट्सहरूमा २०० थान डेङ्गु टेस्टिङ किट छन् । राईका अनुसार संघीय मन्त्रालय स्वास्थ्य महाशाखाहरूसँग समन्वय गरेर धरानका लागि उपलब्ध गराइएको ४०० थान मध्ये २ सय थान प्रतिष्ठानलाई प्रदान गरिएको हो ।

बिपी प्रतिष्ठानलाई उपलब्ध गराइएको किट्स युवा नेता राईले अस्पताल प्रमुख डा. जगत नारायण प्रसादलाई हस्तान्तरण गरेका हुन । किट्स बुझिलिँदै डा. प्रसादले स्वास्थ्य सङ्क्रमणकालीन परिस्थितिमा मद्दत पुर्‍याएकामा नेपाली कांग्रेस धरानलाई धन्यवाद दिए ।

उनले प्रतिष्ठानमा डेङ्गु बिरामीको चाप बढेकाले अस्पताल भवन बाहिर अस्थाई शिविर बनाई स्वास्थ्य उपचार भइरहेको बताउँदै डेङ्गु नियन्त्रण लार्भा सर्च एण्ड डिस्ट्रोयबाट मात्र हुने भएकाले सरोकारवाला संस्थाहरूले यसमा चासो बढाउन आग्रह गरे ।

धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राईले अहिलेको परिस्थितिमा व्यक्तिगत र संस्थागत सहयोग र समन्वय जारी रहने बताए । नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेलले डेङ्गु महामारी अस्पतालको मात्र समस्या नभएर सम्पूर्ण धरानकै चुनौती भएको बताए ।

bp pratisthan kits 3

bp pratisthan kits 2