धरान : केही समय देखी धरानमा भइरहेको धार्मिक तथा सांस्कृतिक विवादले यसअघि कहिल्यै नभएको एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव काम भइरहेको विषयमा बिहीबार सरोकारवालाहरूको भेलाले ४ सूत्रीय निर्णय गर्दै भोली शुक्रवार नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ ।

धरानमा साउन ९ गते एक पक्षले वृहत् र्‍याली प्रदर्शन गर्ने र अर्को पक्षले प्रतिकार गर्ने हल्लाको प्रचार सामाजिक सञ्जालमा देखिएपछि अप्रिय घट्नाको आशङ्का प्रकट गरिदैं आएको बेला धरानका नागरिक समाजका अगुवा, बुद्धिजीवी सरोकारवालाहरूको भेलाले उक्त निर्णय गरेको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको भेलाले ४ सूत्रीय निर्णय गरेको भेला लगत्तै जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्णयमा भनिएको छ ‘धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आव्हान गर्दछौँ ।’

धरानको सामाजिक सद्भाव कायम राख्न भोली साउन ८ गते २ बजे नागरिक स्तरबाट सद्भाव र्‍याली निकाल्ने, धरानको धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न भोली शुक्रवार दिउँसो ११ बजे सर्वदलीय बैठक बस्न अनुरोध गर्ने ।

धरानको सम्भावित सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरिएको विज्ञप्तिमा छ । भेला पूर्व मेयर कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको हो ।

विज्ञप्तिमा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, पूर्व मेयर मनोजकुमार मेन्याङबो, पूर्व मेयर कुमारबहादुर कार्की, पूर्व उपमेयर मीनकुमार सुब्बाले हस्ताक्षर गरेका छन् ।

rally dharan