धरान : नेवार समुदायले विक्रम सम्वतको तिथि अनुसार जनै पूर्णिमाको दिन मनाउँदै आएको परम्परागत पर्व 'क्वाःती पुन्ही' (क्वाँटी पूर्णे) का दिन धरानमा पहिलो पटक क्वाःती फेस्टिभल आयोजना गरिने भएको छ ।

यसपालि जनै पूर्णिमा साउन १४ गतेका दिन परेको छ । सोही दिन नेवा: देय दबूँ प्रदेश समितिले धरान-१० स्थित सैनिक भवनमा ‘क्वाःती फेस्टिभल’ आयोजना गर्ने भएको हो । क्वाःतीलाई नेपालीको राष्ट्रिय परिकारमा समावेश गर्न दबुले माग गर्दै आएको छ ।

दबूँ प्रदेश समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दे उक्त जानकारी दिएको हो । फेस्टिभलका संयोजक राजीव हलवाईले भने ‘नेपालमा नेवारहरूले हाल सम्मको अनुसन्धानमा ८ प्रकारको क्वाःती परिकार बनाउने गरेको पाइएको छ ।’ फेस्टिभलमा भने ४ प्रकारको क्वाःती बनाइने उनले बताए ।

उनका अनुसार क्वाःती नेवारहरूले खाद्य परिकार भएकाले नेवार जातीका लागि अनौठो नभएको बताउँदै यसपालि  क्वाती पुन्हीको दिन अन्य समुदायलाई निःशुल्क क्वातीको स्वाद चखाउन फेस्टिभल आयोजना गरिने भएको हो ।

फेस्टिभलले धरानमा आगामी दिन स्थानीय होटलहरुमा मःम चाउमिन जस्तै खाजाको मेन्युमा क्वाःतीलाई समावेश गरेर यसको बजारीकरण गरेर लैजाने तयारी पनि रहेको हलवाईले बताए । उनले भने ‘क्वाःती व्यावसायिक परिकार बनाउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको हो ।’

आयातित अस्वस्थ्यकर खाजाहरूलाई विस्थापित गर्दै खाद्य गुणस्तर विभागबाटै मान्यता प्राप्त प्रोटिन पाइने स्वास्थ्य वर्द्धक खानेकुरा क्वाःतीको बजारीकरण हुन सके यसले मौलिक नेपाली खाजाको ठाउँ लिन सक्ने उनको भनाई छ ।

दबूँ प्रदेश समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले भने ‘करिब २ हजार सर्वसाधारणलाई क्वाःती खुवाउने तयारीमा हामी लागेका छौँ ।’ क्वाःतीलाई राष्ट्रिय खानाको परिकारमा समावेश गर्नुपर्ने माग नेवा: देय दबुले गर्दै आएको उनले बताए ।

नेपाल भाषामा ‘क्वा’को अर्थ तातो र ‘ती’ को अर्थ झोल भन्ने लाग्दछ । क्वाःतीको अर्थ तातो सुप भन्ने गरिन्छ । नौ प्रकारका गेडागुडीलाई टुसा उमारेर पकाई खाने प्रचलन नेवारी समुदायमा पुरानै प्रचलन भएको श्रेष्ठले बताए ।

फेस्टिभलमा सांस्कृतिक कार्यक्रम र क्वाती पकाउने तालिम समेत प्रदान गरिने बताइएको छ । उक्त अवसरमा विज्ञान, प्रविधि तथा शिक्षामन्त्री अशोककुमार राई, कोसी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूको उपस्थिति रहने जानकारी दिइएको छ ।