धरान : धेरै ठाउँमा डेङ्गु बिरामी पाइए पनि धरानमा अहिलेसम्म १२ जना मानिसको मृत्यु हुनेसम्म महामारीको रूपमा फैलनुमा स्थानीय सरकार जिम्मेवार भएको आरोप सरकारवालाहरूले लगाएका छन् । महामारी नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग नगरेको तथा सांसदहरूले प्रभावकारी भूमिका नखेलेको पनि उनीहरूले लगाए ।

सङ्घीय संसदमा धरानका प्रतिनिधि, विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री अशोक राई, कोसी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु, प्रदेश सांसदहरू, धरानका उपमेयर आइन्द्र बिक्रम बेघाको उपस्थितिमा बिहीबार डेङ्गु महामारी रोकथाम सम्बन्धी छलफलमा स्वयं मन्त्री राईले समयमानै स्थानीय सरकारले समन्वय गर्न नसक्दा समस्या समाधान गर्न ढिलाइ भएको बताए ।

उनले भने ‘स्थानीय तहले समस्या समाधान गर्न नसके प्रदेश तथा सङ्घको सरकार तयार छ, स्थानीय सरकारबाट प्रभावकारी भूमिका र समन्वय नभएकाले समस्या समाधान गर्न ढिलाइ भएको देखियो ।’ मन्त्री राईले धरानमा २०७४ सालमा पनि डेङ्गु देखिएको बताउँदै भने ‘त्यस बेला तत्काल उपमहानगरपालिका उपमेयर मञ्जु भण्डारीले नियन्त्रणका लागि समन्वय गर्नुभयो ।’

आफूले पनि पटकपटक समन्वय, छलफल गरेपछि सङ्घीय सरकारबाट आएको स्वास्थ्यका टोलीले बिपी प्रतिष्ठानसँग सहकार्य गरी छिटै समस्या समाधान भएको बताउँदै भने ‘अहिलेको जस्तो महामारीको रूपमा फैलन पाएन ।’

उनले आफूसँग सम्पर्क समन्वय नभए पनि मेयर हर्क साम्पाङको फेसबुक स्ट्याटस देखेर पनि सङ्घीय सरकारबाट आवश्यक परीक्षण किट लगायत औषधिहरू प्रदेश सकार मार्फत उपलब्ध गराएको जानकारी दिए ।

धरानमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने बारेमा पनि सङ्घीय सरकारका उच्च पदस्थ अधिकारीहरूसँग छलफल भएको बताउँदै मन्त्री राईले भने ‘सङ्कटकालको घोषणा गर्दा थप आतङ्क फैलिन सक्छ, त्यसको  नकारात्मक प्रचार हुनसक्छ भनेर, सङ्कटकै स्थितिको सहयोग गर्ने सल्लाह भएको छ ।’

सङ्घीय सरकारको जिम्मेवारीका कारण समयमा धरान आउन नसकेपनि धरानका समस्याका बारेमा दैनिक जानकारी लिने र आवश्यक भूमिका निर्वाह गर्ने काम आफूले गर्दै आएको उनले बताए ।

कोसी प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले भनिन् ‘प्रदेश सरकारबाट डेङ्गु नियन्त्रण गर्न पठाइएको प्राविधिक टोली धरान उपमहानगरपालिकाले चाहिँदैन भनेर फर्काइदियो ।’ सहज सहजीकरण गर्न आफू तयार रहेको भएपनि महामारी नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका सहज नभएकोले अप्ठ्यारो भएको उनले बताइन् ।

तत्काल प्रदेश सरकारसँग बजेट नभएपनि विपद् व्यवस्थापनसँग सहकार्य गरी स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनले बताइन् । उनले धरानको विषयमा जानकार रहेतापनि प्रदेश सरकारको अस्थिरका कारण धरानको स्थलगत अवलोकन गर्न नपाउन आज उपचार केन्द्रहरूको अवलोकन गरी जनतासँग समस्या बुझेको जानकारी दिइन् ।

धरानका पूर्व मेयर मनोज मेन्याङवोले धरान उपमहानगरपालिकाका मेयर उपमेयरले सामाजिक सञ्जालमा भाइरल हुने काम मात्र गरेको आरोप लगाउँदै भने ‘ डेङ्गु नियन्त्रणमा प्रभावकारी काम गर्नु भएन, मेयर आफ्नो ढङ्गले, उपमेयर आफ्नै ढङ्गले हिँडेको देखियो ।’

डेङ्गुले मानिस मर्न थालेको यत्रो महामारीका बेला उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको एउटै बैठक नबसेको बताउँदै पूर्व मेयर मेयाङबोले प्रदेश र सङ्घीय सरकारको पनि भूमिका नदेखिएकोमा क्षोभ प्रकट गरे ।

धरानका २० वटै वडाध्यक्षहरूको र राजनैतिक दलको भूमिका स्पष्ट नहुँदा जनता घरघरमा डेङ्गु पीडित भएको बताउँदै उनले भने ‘सङ्कटको बेला धरान उपमहानगरपालिकाको आधिकारिक धारणा अहिलेसम्म कतै आएको छैन, काम, कर्तव्य नै बिर्सेको देखियो ।’

नेपाली काँग्रेस नगर सभापति श्याम पोख्रेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट केही नभएपछि डेङ्गु महामारीमा धराने जनता अनाथ आश्रममा बसेको जस्तै भएको बताए । महामारी नियन्त्रणमा सबै राजनैतिक दल संयम भएर लागि परेको बताउँदै उनले भने ‘सर्वदलीय सर्वपक्षीय छलफल भई प्रदेश सरकारसँग औषधि, टेस्ट किट माग्न डेलिगेसनमा गयौँ ।’

प्रदेश स्वास्थ्य मन्त्री निर्भलालाई इङ्गित गर्दै पोखरेले भने ‘आपत्कालीन समयमा सरकारका अङ्गले साइत हेरेर बसेको जस्तै भएको छ, डेलिकेशनमा गएको एक हप्ता भइसक्दापनि स्वास्थ्य सामाग्री आइपुगेको छैन ।’ मानिस मरेर खरानी मात्र हुने रोएर केही हासिल नहुने भएकाले स्वास्थ्य सामाग्री खरिद गरी छिटो पठाउन आग्रह गरे ।

कोसी प्रदेश सांसद रमेश बस्नेतले डेङ्गु महामारी बढेको अवस्थामा स्थानीय सरकारसँग पटकपटक समन्वयका लागि पहल गरेको बताउँदै भने तर स्थानीय तहबाट सङ्घ, प्रदेशसँग पहलको प्रयास भने नभएको बताए ।

धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले डेङ्गु नियन्त्रणको कार्य भएको तर एकीकृत र केन्द्रीकृत पहल हुन नसकेकोले प्रभावकारी नियन्त्रण नभएको बताउँदै भने ‘प्रमुख जिम्मेवारी र भूमिका स्थानीय सरकार धरान हुन्छ तर चुक्यो ।’

डेङ्गु रोकथाम गर्न सङ्घ संस्था, राजनैतिक दल र उपमहानगरपालिका आफैपनि लागेको तर एकीकृत कार्य एकद्धार प्रणाली लागु नभएकाले एउटै घरमा सेवा सुविधा दोहोरिएको तर पाउनु पर्नेले नपाएको स्मरण गराए ।

धरानलाई डेङ्गु सङ्कटकाल घोषण गरेर लैजान प्रदेश, सङ्घ सबैसँग छलफल भएको बताउँदै भने ‘तर स्थानीय सरकार धरान उपमहानगरपालिका तयार नभएको कारण सङ्कटकाल घोषणा गर्नबाट धरान चुक्यो ।’

बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष संजिव शर्माले रोग नियन्त्रण गर्न एक अर्कामा आरोप प्रत्यारोप नगरी महामारी नियन्त्रण गर्न सबै लागि पर्न आग्रह गरे । डेङ्गु नियन्त्रण गर्न दक्ष जनशक्तिको अभाव रहेको र महामारीकै बेला झटै सजिलै दक्ष जनशक्ति उत्पादन गर्न नसकिने भएकाले विद्यार्थीहरूलाई स्वास्थ्य शिविरहरूमा खटाइएको बताए ।

छलफलमा प्रदेश सांसद यशोदा कायस्थ, धरानका पूर्व मेयरहरू कुमारबहादुर कार्की, तिलक राई, पूर्वउपमेयर मीन कुमार सुब्बा, डा विक्रम श्रेष्ठ बुद्धिजीवी, वडाध्यक्षहरू, राजनीतिक दलका नेतृत्वहरू सहभागी थिए । अध्यक्षता सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए ।

dengue rog niyantran 2

dengue rog niyantran 3