विराटनगर : विराटनगर स्थित इडेनवर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा रुवी लामा प्रथम भएकी छन् । विभिन्न चरण पार गरेर छानिएका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै लामा प्रथम भएकी हुन् । ‘मोबाइल बरदान कि अभिशाप’ विषयमा आयोजित वादविवाद पक्षमा उत्कृष्ट तर्क राखेर लामाले प्रथम स्थान हासिल गरेकी हुन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदितको प्रमुख आतिथ्ययतामा भएको प्रतियोगितामा रामकुमार साह द्वितीय र रेनुका कार्की तृतीय भए । विजयीहरूलाई प्रेस युनियन कोसी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितसहित कलेज सञ्चालक समितिका अध्यक्ष विष्णु दाहाल, प्रिन्सिपल डिके साह, संयोजक शम्भुप्रसाद महतो र शिक्षक एके दासले ट्रफी, मेडल प्रदान गरेका थिए । नवोदितसहित कलेजका शिक्षक र विद्यार्थी सम्मिलित निर्णायक समितिले पुरस्कृतको नाम घोषणा गरेको थियो । 

कार्यक्रममा नवोदितले मोबाइलले मानिसको जीवनलाई सहज बनाए पनि गलत प्रयोगले समस्या पनि ल्याएको बताए । उनले मोबाइललाई सही रूपमा प्रयोग गर्न विद्यार्थीहरूलाई आग्रह समेत गरे । दैनिक २ हजारको सङ्ख्यामा अवसरको खोजीमा युवाहरू विदेश पलायन भइरहेको बताउँदै नवोदितले सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिए ।

सञ्चालक समितिका अध्यक्ष दाहालले कलेजले पाठ्यक्रमको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेको सुनाए । प्रिन्सिपल साहले हरेक क्षेत्रमा इडेनवर्ग कलेजलाई अब्बल बनाउने योजनाका साथ अगाडि बढिरहेको चर्चा गरे । २०६६ सालमा स्थापित कलेजमा विविएस र वि एड अध्यापन हुँदै आएको छ ।

edenburg 2