इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) क्षेत्रीय समितिले विश्वेश्वर प्रसाद कोइराला (बिपी) को जन्म जयन्ती भव्य रूपमा मनाउन लागेको छ । क्षेत्रीय समितिले काँग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचीत प्रधानमन्त्री कोइरालाको सम्झनामा विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको हो ।

२ (क) क्षेत्रीय समितिले जन्म जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम तय गरेको छ । भदौ २४ गते बिपीको ११० औँ जन्मदिनमा समापन हुने गरी कार्यक्रम निर्धारण गरिएका छन् ।

जस अन्तरगत पहिलो दिन भदौ १६ गते शनिवार काँग्रेस रन कार्यक्रम आयोजना गरिने भएको छ । इटहरी-४ आइतबारे नेपाल टेलिकमको भवन अगाडीबाट खुल्ला दौड गरेर कार्यक्रम उद्घाटन गर्न लागिएको हो । टेलिकमबाट आँपगाछी  पुगेर पुनः टेलिकममै आउने गरी ५ किलोमिटरको दौड तय भएको छ ।

साहित्यकार बिपीको सम्झनामा मुक्तीधाम मन्दिरमा बिपी साहित्य सन्ध्या गरिने भएको छ । १९ गते साँझ ५ बजेबाट साहित्य सन्ध्या हुन लागेको हो । क्षेत्रीय सभापति सुवेक्छु देवानका अनुसार बिपीको साहित्यिक पाटोको विषयमा खुल्ला छलफल गर्न लागिएको हो । इटहरी आसपास रहेको साहित्य अनुरागी तथा बिपी विचारका अनुयायीहरूलाई औपचारिक निमन्त्रणा गरेर कार्यक्रम गर्न लागिएको उनले बताए ।

क्षेत्रीय समितिले बढ्दो वातावरणीय जोखिमलाई मध्यनजर गर्दै वृक्षारोपण गर्ने भएको छ । सुनसरीको रामधुनी नगरपालिका ३ नम्बर वडामा वृक्षारोपण कार्यक्रम गर्न लागिएको सभापति देवानले जानकारी दिए । उनका अनुसार पर्यावरण अनुकूल हुने बिरुवाहरू रोप्ने कार्यक्रम रहेको छ ।

सप्ताहको अन्तिम दिन अर्थात् बिपीको जन्म दिनमा खुल्ला वक्तृत्वकला कार्यक्रम आयोजना गर्न लागिएको छ । आइतबारेको दुर्गा पार्टी प्यालेसमा २४ गते बिहान १० बजेदेखि वक्तृत्वकला कार्यक्रम गरिने भएको हो । वक्तृत्वकलाको शीर्षक लगायत विषयमा तयारी भइरहेको कपुरी न्युजलाई उनले बताए ।