विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरूले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा निराशा छाएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित हुँदा जनतामा निराशा छाएको बताएको हो । नेता कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे ।

नेपालका सबै पार्टीका नेताहरूले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क थियो । राजनैतिक पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।

“राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेसा व्यवसायी गर्दा भइगयो नि,” उनले भने, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यथित बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरू आएका छन् ।”

उनले स्वर्गीय न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको बताए । आफूले पटकपटक भेट्दा पनि न्यौपानेले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गरे ।

मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठ लगायतले स्वर्गीय न्यौपानेको राजनैतिक र सामाजिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए । नेविसंघ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य रहेका थिए । न्यौपाने वरिष्ठ अधिवक्तासमेत थिए ।