धरान : धरानमा माओवादी केन्द्रीय नेताको रेखदेखमा आज शनिवार देखी जनताका घरघर जान थालेका छन् । उनीहरू पार्टीले सुरु गरेको ३ महिने अभियानमा धरानका २० वटै वडाका जनताका घरघर जान थालेका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङबाङ त्यसका लागि धरानमा संयोजकका रूपमा आएका छन् । उनकै रेखदेखमा अभियान सञ्चालन हुने बताइएको छ ।

शनिवार धरानको २० वटै वडामा बेग्लाबेग्लै अभियानको उद्घाटन भएको उनले बताए । केन्द्रीय सदस्य काङबाङका अनुसार जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रम ३ महिना सम्म चल्नेछ ।

अभियानको उद्घाटन धरान-७ मा बिहान ६ बजे सरसफाइ, वडा ६ मा डेंङ्गु पीडित बिरामीलाई औषधि वितरण गर्दै गरियो ।वडा २ मा घण्टाघर भित्र र बाहिर परिसर सरसफाइ, वडा १ मा छाताचौंकदेखि टेलिकम सम्म सडक सरसफाइ, वडा १६ मा दश वटा चौकहरूको सरसफाइ गरेको छ।

वडा १७ को रत्नचौंकदेखि चारघरे सम्मको सडक सरसफाइ, वडा १९ मा हरियाली पार्क अघिको नाली र सडक सफाइ, वडा १५ मा बगरकोट टोलको सरसफाइ गरिएको बताइएको छ ।

वडा २० मा विष्णुपादुका जाने सडकमा गएको पहिरो हटाउने र अम्रिसो रोप्ने कार्यक्रम गरियो । वडा ८ मा मुख्य ठाउँहरूमा डस्टबिन राख्दै सरसफाइ गरिएको छ । वडा १२ मा चतरा लाइन-पानीट्यांकी सडकको खाल्डाखुल्डी पुरिएको छ ।

वडा ३ मा अग्रज कम्युनिस्ट नेताहरूलाई सम्मान गरिएको छ । वडा ४ मा सारङ्गा डाँडो छेउछाउको सडक मर्मत र सरसफाइ. वडा ५ मा माथिल्लो देउरालीमा फलामे फलैँचाको स्थापना गरेको छ ।

वडा ११ मा कुबिर्ता चौकमा यात्रु प्रतीक्षालयको शिलान्यास गरियो । वडा १३ मा भैपरी आउने कोष स्थापनाको घोषणा गरिएको छ । वडा १४ मा चेतनामूलक साइनबोर्ड राखियो ।

वडा १० मा सहिद परिवारहरूसँग भेटघाट गरी खदामाला र फलफूल प्रदान गरियो । वडा १८ मा चेतनामूलक साइनबोर्डको राखिएको छ । वडा ९ मा खेलकुद सामाग्री वितरण गरिएको जानकारी संयोजक काङमाङले दिए ।

उनले भने ‘माओवादीका नेता कार्यकर्ता जनताको घर सम्म पुग्न नसकेकोले माओवादीसँग जनता निराश भएका छन् ।’ त्यसैले माओवादी केन्द्रको घर घरमा पुग्ने अभियान थालिएको बताउँदै भने ‘अब दिनहुँ जनतासँग माओवादी जोडिने र जनताको समस्या समाधान गर्नेछ ।’

janta-sanga-mobadi-2