वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ ।

नगर प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई एउटा बस उपलब्ध गराउन बजेट समेत विनियोजन भएको छ । बस खरिदका लागि प्रत्येक वडाहरूबाट २/२ लाख गरेर २२ लाख र नगरपालिकाबाट १२ लाख रकम विनियोजन गरिएको नगर प्रमुख कार्कीले बताए ।

उच्च शिक्षा लिन धरान, इटहरी, इनरुवा जानू पर्ने बाध्यतालाई हटाउन मधुवन, प्रकाशपुर, भरौल र चतराका विद्यार्थीहरूलाई क्याम्पस आउन सहजताका लागि क्याम्पसलाई अनुदानमा बस उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख कार्कीको भनाई छ ।

नगरपालिकाले बस अनुदानको लागि बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले पनि बस खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ । वडा नं ७ स्थित नगरपालिकामा रहेको एक मात्र बहुमुखी सामुदायिक क्याम्पसमा पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीको पहलबाट भारतीय राजदूतावासको सहयोगमा प्राप्त क्याम्पसको आफ्नै बस रहेको छ भने एउटा बस भाँडामा लिएर सञ्चालन गरी राखेको छ ।

शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सहितको डिग्री क्याम्पस बनाउने योजना र चतरामा रहेको वराह आदर्श क्याम्पसमा विश्व विद्यालयबाट अनुदान व्यवस्थापन र विद्यार्थीहरूलाई आकर्षित गराउने योजना बनाई राखेको नगर प्रमुख कार्कीले बताए ।

pramukh ramesh karki

saptakoshi campus