इटहरी : सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनीले गोताखोर तालीम सुरुवात गरेको छ । विपद् व्यवस्थापन र बोर्डर सुरक्षामा प्रभावकारी बनाउन लागेको प्रहरीले गोताखोरका दक्ष जनशक्ति उत्पादनमा ध्यान दिएको हो ।

हालसम्म कोशी प्रदेशमा जम्मा ६ जना मात्र दक्ष गोताखोर छन् । आइतबारबाट थप २० जनलाई तालीम प्रदान गरिने भएको छ । प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दीपक काफ्लेको प्रमुख आतीथ्यतामा तालीम उद्धघाटन भएको हो । उद्धघाटन सत्रलाई सम्बोधन गर्दै डा. काफ्लेले सशस्त्र प्रहरी बलले नेपालको सीमा सुरक्षामा मात्र नभई विश्व शान्तिको लागि काम गरेको बताए । विपद् व्यवस्थापनमा अब्बल रहँदै आएको प्रहरीले सुरु गरेको गोताखोर तालीमले पानीमा हुने दुर्घटनाको उद्धारमा सहयोग पुग्ने धारणा राखे । प्रदेश सरकारको प्रत्यक्ष लगानीमा तालीम सञ्चालन हुन लागेको हो ।

अपर्याप्त जनशक्ति र उपकरणको अभावका बिच गत आर्थिक वर्षमा ६२२ घटनामा १५३८ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ । चालु आ. व. २०८०/८१ मा मात्रै ७० जनाको उद्धार गरिएको हो । हालसम्म देशैभरिबाट ३२ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । जीवितै उद्धारको सङ्ख्या बढाउनको लागि गोताखोर तालीम प्रदान गर्न लागिएको बाहिनीपति प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बताए । 

नेपालको भौगोलिक बनोटको कारण विपद्को जोखिम बढी भएको उनको भनाइ छ । २०६९ साल सम्म बङ्गलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उनले अब नेपालको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिइएको बताए ।

अवैध ओसारपसारबाट १ अर्ब राजस्व सङ्कलनको लक्ष्य

कार्यक्रम उद्धघाटनपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै डिआइजी पोखरेलले विपद्सँगै बोर्डर सुरक्षामा पनि सशस्त्र प्रहरी गम्भीर भएको बताए । कोशी प्रदेशमा ६५० किलोमिटर सीमा सुरक्षा गर्नुपर्ने बताउँदै थोरै जवानको भरमा धेरै सीमा सुरक्षा भइरहेको उनले जानकारी दिए ।

१० वटा सीमा सुरक्षा गुल्म र ४७ वटा बोर्डर आउटबाट गत आर्थिक वर्षमा ३६ करोड २४ लाख ५६ हजार ९३८ रुपैयाँ राजस्व सङ्कलन भएको डिआइजी पोखरेलले जानकारी गराए । चालु आवमा हालसम्म ९ करोड ८५ लाख ७६ हजार ८३९ सङ्कलन भइसकेको र आर्थिक वर्षको अन्त्य सम्ममा १ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको बताए । चालु आवको साउन महिनामा मात्र ७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलताको नीति लिएको बताउँदै उनले अवैध कारोबारीसँग मिलेमतो गर्ने प्रहरीलाई तुरुन्त कारबाही गर्न थालिएको बताए । कुनै पनि जवान वा अधिकृतले गलत गरेको सूचना पाउनासाथ कारबाही हुने उनले प्रस्ट पारे ।

gotakhor talim 2