विराटनगर : ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ, बेलबारी-३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव सङ्कलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।

विगतमा सरकारमा पुर्‍याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किराँतीले अब सरकारले गर्नुपर्ने कामहरू पनि जनताकै सुझाव आधारमा हुनुपर्ने बताउँछन् ।

सुझाव पत्र बाँड्दै मन्त्री किराँतीले भने, ‘चुनावको बेला हामीले तपाईँहरूसँग भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईँहरूले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौँ, मन्त्री भएका छौ । अब तपाईँहरूले भन्नु पर्‍यो, लिखित रूपमा भन्नु पर्‍यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईँहरूको सुझाव अनुसार नै काम गर्नेछौँ ।’

काठमाडौँबाटै सुझाव सङ्कलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्य गरी तीन विषयमा सुझाव सङ्कलन गर्न खोजेका छन् । मन्त्री किराँतीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव सङ्कलन गर्न खोजेका छन् ।

‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोसिस गरेका छन् ।

उनले सुभलाव पत्रमार्फत आफू नेतृत्वको मन्त्रालयसँगै अन्य विकासे मन्त्रालयहरूले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरूको २ नम्बर बुँदामा लेखेको छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्त्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’

त्यसै गरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरू, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरू केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’

टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट सङ्कलन गर्ने :

अभियानका क्रममा करिब पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ । किरातीको जिम्मेदारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदान छन् ।

सुझावहरू सङ्कलन गर्न तयार पारिएको सुझाव पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव सङ्कलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् ।

जनतासँग लिएको सुझावलाई केन्द्रित गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यान्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी साँच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उनीहरूले दिनु भएको सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यान्वयन गर्ने योजना छ ।’

शनिवारदेखि देशैभर माओवादीको अभियान सुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रूपमै सुझाव माग्ने काम कम्तीमा पनि माओवादीका लागि पहिलो र नौलो अभ्यास हो ।

यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झैँ जनताको घर पुगेर फर्कन्थे ।  मन्त्री किरातीले भने, ‘विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’

प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराँती १६ गते बिहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । उनले यसअघिका शनिवारमा पनि सरसफाइ तथा वृक्षारोपणमा जुट्दै आएका छन् । यो शनिवार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याम्पस लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा बिहानै वृक्षारोपण गरे । बिहान वृक्षारोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए । 

मन्त्री किरातीले सुझाव सङ्कलनका लागि तयार पारेका प्रश्नहरू :

१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?

२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाईजहाज (उड्डयन) सडक, जलविद्युत् लगायत महत्त्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?

३. नेपालका राजनीतिक दलहरू, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरू केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?