धरान : कोशी नाम खारेजी र लिम्बुवान, किरात पुनः नामकरणको मुद्दामा केन्द्रित किरात याक्थुङ चुम्लुङले आइतबार देशव्यापी रूपमा ३५ औ स्थापना दिवस मनाएको छ ।

लिम्बुवानको ९ जिल्ला सहित चितवन, काठमान्डु उपत्यकाको ललितपुरमा जुलुस र्‍याली प्रदर्शन, वृहत् सभा, सांस्कृतिक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

पछिल्लो समय कोशी प्रदेश नामकरण खारेजीको आन्दोलनमा केन्द्रित चुम्लुङले पुनः नामकरणको मागलाई आफ्नो प्रमुख मुद्दा बनाएको छ । चुम्लुङले प्रदेशको पुनः नामकरणका लागि ‘लिम्बुवान, किरात’ नाम अघि सार्दै आएको छ ।

धरानमा आइतबार बिहान सांस्कृतिक र्‍याली प्रदर्शन सहित धरान-१५ स्थित चुम्लुङ हिममा सभा आयोजना गरी स्थापना दिवस मनाइएको छ । चुम्लुङ धरान उपमहानगर समिति तथा सुनसरी जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ थिए ।

कार्यक्रममा चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगन्द्र पालुङवाले कोशी नाम खारेजी चुम्लुङको मुख्य मुद्दा भएको बताउँदै समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रकाश पारेका थिए ।

सभामा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघा, चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, जनजाति महासङ्घ धरानका सचिव हेमराज याख्या, नेपाल मगर सङ्घका चित्रराज मगरले आफ्ना धारणा राखेका थिए ।

चुम्लुङ धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको सभा चुम्लुङ नगर सदस्य, बुद्रोश लिम्बु, नगर सचिव बालकृष्ण सिंघक र स्वर्णिमहाङ फोम्बोले सञ्चालन गरेका थिए ।

यसअघि छाताचौक स्थित पुरानो अस्पताल परिसरबाट निस्किएको वृहत् सांस्कृतिक र्‍याली छाता चौक, भानु चौक हुँदै चुम्लुङ हिममा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा १०० को सङ्ख्यामा च्याब्रुङ टोली सहभागी थिए । लिम्बु समुदायका फेदाङमा, येबा, साम्बाहरु यालाङ नृत्य सहित र्‍यालीमा सहभागी थिए । र्‍यालीमा परम्परागत पहिरन, गहना सहित लिम्बु महिलाहरूको सहभागिता उल्लेखनीय थियो ।chumlung-dharan