विराटनगर : महानगरपालिकाका खुल्ला ठाउँहरूलाई सौन्दर्यीकरण गर्ने नीति अनुसार विराटनगर-८ स्थित हाटखोला खेल मैदान पश्चिममा खुल्ला व्यायामशाला परिसरलाई पार्कको रूपमा विकास गर्न  सौन्दर्यकरणको कार्य सुरु गरिएको छ ।

व्यायामशाला परिसरमा वृक्षारोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको हो । आइतबार एक कार्यक्रम बिच व्यायामशाला परिसरमा मौसमी फूल, साना बिरुवा रोपिएको वडा ८ का अध्यक्ष राम पोखरेलले बताए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन स्वास्थ्यवर्धक फूलका बिरुवाहरू रोपिएको हो ।

उपमेयर शिल्पा निराला कार्की, वडा ७ का अध्यक्ष मधुबाबु तिवारी, वडा सदस्य भुवन राजवंशी, मोहम्मद आवास लगायतले वृक्षारोपण गरेका छन् ।

उक्त बगैँचाको संरक्षण बुद्ध मिलन वाचनालयले गर्ने अध्यक्ष उज्वल प्रसाईँले बताए । उनका अनुसार परिसरमा बिजुलीको झिलिमिली लामो समय नटिक्ने भएका कारण थोरै खर्चबाट प्राकृतिक सौन्दर्ययताले आकर्षक बनाउन लागिएको वडाध्यक्ष पोखरेलले बताए ।