धरान : धरान वडा ९ का बिरामीलाई कुनै पनि बेला रगत चाहिएमा रक्त सञ्चार केन्द्रलाई बुझाउनु पर्ने ब्लड ब्याग, किट बापतको शुल्क बुझाउनु नपर्ने भएको छ । रेडक्रस सोसाइटी र वडा ९ कार्यालय बिच सम्झौता भएपछि वडावासीले उक्त सुविधा पाउने भएका हुन् ।

नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको कार्यक्रम बिच आज मङ्गलवार रेडक्रस सोसाइटी सुनसरी र धरान-९ वडा कार्यालय बिच उक्त सम्झौता भएको हो । 

अस्पतालमा बिरामीलाई तत्काल रगत चाहिएमा हाल रक्त सञ्चार केन्द्रलाई एक पिन्ट रगतको ब्लड ब्याग, किट बापत एक हजार ५० रुपया शुल्क बुझाउनु पर्दछ ।

उक्त सम्झौता भएपछि धरान-९ का स्थानीयवासीले उक्त शुल्क बुझाउनु पर्दैन । उक्त शुल्क वडा कार्यालयले रेडक्रसलाई एकमुष्ट बुझाउने गरी वडावासीलाई बिना शुल्क रगत उपलब्ध गराउन सम्झौता भएको कार्यक्रममा वडा अध्यक्ष रुपेश आचार्यले बताए ।

रेडक्रससँग बिरामीलाई बिना शुल्क रगत उपलब्ध गराउने सम्झौता गर्ने वडा ९ पहिलो भएको छ ।