भद्रपुर : झापाको भद्रपुर स्थित ओम साई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा बिस्तारको तयारी गरिएको छ ।

अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।

अस्पतालले कन्सल्टेन्ट चिकित्सकको समेत सेवा सुरु गर्न लागेको छ । साबिक मेची अञ्चलमै पहिलो पटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सल्टेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा सुरु हुन लागेको जनाइएको छ ।

डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स अस्पतालबाट पाइने गुणस्तरीय स्वास्थ्य सेवा अब ओम साई पाथीभरा अस्पतालबाटै पाइने बताइएको छ ।

दम, खोकी, मुटु, प्रेसर, जण्डिस, सुगर, थाइराइट, उच्च रक्तचाप, मृगौला, कलेजो, ग्यास्ट्रिक लगायतका बिरामीले अब ओम साई पाथीभरा अस्पतालबाटै गुणस्तरीय उपचार सेवा पाउने भएका छन् ।

त्यस्तै कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. यादवमार्फत शिशुको तौल कम भएको, श्वासप्रश्वासमा समस्या भएको, जन्मैदेखि मुटुमा समस्या भएको लगायतका समस्यामा गुणस्तरीय उपचार सेवा पाइने बताइएको छ । उक्त दुवै चिकित्सकको सेवामा स्वास्थ्य बिमा पनि लागू हुने बताइएको छ ।